स्थानीय तहहरूले विकासका नाममा बाटोलाई बढी प्राथमिकतामा राख्ने गरेका छन् । राज्य पुनर्संरचनापछिको निर्वाचनमा जितेर आएका धेरैजसो जनप्रतिनिधिहरू आफै ठेकेदार र डोजरका मालिक छन् । त्यसैले पनि उनीहरूले सडक खन्ने योजनालाई जोड दिने गरेका छन् । एकातिर आफ्ना मतदाता खुसी हुने, अर्कातिर डोजरको भाडा वा ठेक्का आफ्नै खोजीमा आइपुग्ने भएपछि उनीहरू जथाभावी नयाँ सडक खनिरहेका छन् । तर भएका सडकलाई व्यवस्थित गर्ने, मर्मत–सम्भार गर्ने काम भने झारा टार्ने हिसाबले भइरहेका हुन्छन् ।

अहिले वर्षायाममा ग्रामीणभेगका सडकमा हिँडिसक्नु छैन । सडकहरू कतै भत्किएका त कतै हिलाम्मे छन् । सडकको यही दुरावस्थाका कारण खेतमा धान रोपेर धान दिवस मनाइने असार १५ का दिन सुनसरीको देवानगञ्ज र धनकुटाको हिलेका स्थानीयले सडकमा धान रोपेर विरोध जनाए । दुवै ठाउँको समस्या एउटै हो, सडक मर्मत नहुँदा भएको समस्या । हिउँदमा पानी नपरेका बेला सामान्य हुने ग्रामीणभेगका यी सडक वर्षायाममा प्रायः यस्तै अवस्थामा रहन्छन् । स्थानीय तह भने यी सडकलाई दिगो बनाउनेतिर भन्दा बजेट सक्ने ध्यानमा मग्न हुन्छन् भन्ने उदाहरण त अहिलेको असारे विकासले पनि देखाएको छ । बजेट आएको ११ महिनासम्म चुप लागेर बस्ने स्थानीय तहहरू असार लागेपछि विकासका काममा सक्रिय हुन्छन् । त्यसमा पनि पहिलो नम्बरमा सडक नै पर्छ । अहिले जताततै सडक मर्मत, पुनर्निर्माणको नाटक चलिरहेको देखिन्छ । कतिसम्म भने झम्झम पानी परिरहेका बेलासमेत सडक पिच गर्ने काम भइरहेको हुन्छ । पानी परिरहेका बेला यसरी मर्मत गरिएको सडक कसरी लामो समय टिक्न सकोस् ? सडकहरूको दुरावस्था हुने एउटा प्रमुख कारण यस्तै असारे विकास पनि हो । हतार–हतार बजेट सक्ने हिसाबले गरिएको विकास दिगो हुने कुृरै भएन । अन्य महिना काम नगरेर असारमै विकासको काम गर्नुपर्ने के बाध्यता छ कुन्नी बुझिनसक्नु छ । यो क्रम हरेक वर्ष दोहोरिइरहनाले सडकमा भइरहेको लगानी बालुवामा पानी खन्याएजस्तै भइरहेको छ । अर्को समस्या भनेको ठेकेदारहरूसँग सेटिङमा हुने कामले पनि सडकको यो अवस्था निम्त्याइरहेको छ ।

स्थानीय तहहरूका, कर्मचारीका, नेताका आ आफ्नै ठेकेदारहरू हुने र उनीहरूले पाएका ठेक्का बापत नेता, कर्मचारीसम्म कमिसन पुग्ने भएकाले पनि राम्रोसँग अनुगमन हुँदैन । त्यसकारण विकासको काम कमसल भइरहेको छ । सडकमा भइरहेको लापरबाहीको मार सर्वसाधारणले भोग्नु परिरहेको छ । ग्रामीणक्षेत्रमा स्थानीयहरू हिलाम्मे सडकमा कहिलेसम्म हिँड्नु पर्ने हो ? प्रश्न अनुत्तरित छ । सडक निर्माण गर्दा शुरुमै दिगो बनाउन राम्रोसँग अध्ययन गरिएको पाइँदैन । प्राविधिक जानकारी बिना नै मनखुसी सडक निर्माण गर्ने कामलाई निरुत्साहित गर्नु जरुरी छ । ग्रामीण क्षेत्रको विकासको सबैभन्दा महŒवपूर्ण पूर्वाधार नै सडक भएकाले सडकलाई दिगो बनाउन सकेमात्र विकासमा पनि दिगोपन आउँछ भन्ने भुल्नु हुँदैन । स्थानीय तहदेखि विकासे संस्थाहरूले सडकलाई दिगो बनाउने योजना ल्याउनुपर्छ । सडकलाई हरेक साल कमाइखाने बाटो बनाउनु हुँदैन । त्यसका लागि ठेकेदारहरूलाई पनि जिम्मेवार बनाउनु आवश्यक छ । सडकको गुणस्तर कायम गर्न नसक्ने ठेकेदारलाई कारबाही गर्ने व्यवस्था गरिनुपर्छ । निर्माणसँग सम्बन्धित सबैलाई जिम्मेवार बनाउन सकियो भने मात्र दिगो विकासले प्राथमिकता पाउँछ ।