- अनिल श्रेष्ठ
विराटनगर / १३ असारमा झापा शिवसताक्षी नगरपालिका–८ काभ्रेचौकका मिलनकुमार विष्टको ३ वर्षीय छोरा संयमकुमार विष्टको डुबेर मृत्यु भयो । घरनजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर बेहोस भएका नाबालक संयमलाई उपचारार्थ बी एण्ड सी अस्पताल बिर्तामोड पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
असार १२ गते मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरकी ५५ वर्षीया मायादेवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भयो । बक्राहा खोलानजिकै चौपाया चराइरहेकी साहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् । खोजतलास गर्ने क्रममा बगाएको स्थानभन्दा करिब ३ किलोमिटर दक्षिण खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको थियो । यसैगरी १२ असारमा विराटनगर १८ आइसपी अगाडीको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर स्थानीय जयपाल मण्डलका ७ वर्षीय छोरा अङ्कुश मण्डलको मृत्यु भयो ।
पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरूले देखे पश्चात् तत्काल उद्धार गरी उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएकोमा अस्पताल पु¥याउनासाथ बालकको मृत्यु भएको थियो । यस्तै १० असारमा झापाको बाह्रदशी गाउँपालिका–६ कञ्चनबारीका श्यामकुमार टुडुको साढे १ वर्षीया छोरी अनुसा टुडुको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भयो । ६ असारमा सुनसरीको इनरुवा नगरपालिका–७ का ४५ वर्षीय रामलाल उराव स्थानीय ज्वाला खोलामा डुबेको अवस्थामा मृत फेला परेका थिए ।
४ असारमा सिरहा घर भई उदयपुरको गढी गाउँपालिका–७ का गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी नविना खड्काको खोलामा डुबेर मृत्यु भयो । १ असारमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० वर्षीय आकाश राई मृत फेला परे । राति पौने ८ बजे साथीहरूसँग नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै खोजतलासमा खटिएको विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र प्रहरीसहितको टोलीले राईलाई पोखरीभित्र मृत फेला पारेको थियो ।
उल्लेखित घटना वर्षा शुरू भएसँगै प्रदेश १ का विभिन्न खोलाहरूमा आएको बाढी र खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएका प्रतिनिधिमूलक घटना हुन् । १४ जिल्ला रहेको प्रदेश १ मा तीन वर्षमा १ सय १५ जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । वर्षायाम शुरू भएयता असार १ देखि १३ गतेसम्म पानीमा डुबेर ७ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको असार १३ गतेसम्म मात्र ३७ जनाको खोलामा आएको बाढी र पानीमा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखमा उल्लेख छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक थापाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश १ को विभिन्न ९८ स्थानका बाढी र पहिरोमा परी ४४ जनाको मृत्यु भएको बताए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७५÷७६ मा पहिरो र बाढीमा परेर मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षमा २ सय ९८ स्थानमा गएको बाढी र पहिरोमा परी ३४ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा देखिएको हो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या घटेको भए पनि चालू आर्थिक वर्षमा बाढी र जमेको पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या वृद्धि हुने देखिएको छ । चालू आर्थिक वर्षको असार १३ गतेसम्म खोलाले बगाएर र डुबेर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । जुन गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा तीन जनाले बढी देखिएको हो । चालू आर्थिक वर्षको अझै १५ दिन बाँकी भएकोले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
प्रदेश र स्थानीय सरकारको छैन तयारी
महामारीको रूपमा फैलिएको कोरोना नियन्त्रणमा लागेको प्रदेश र स्थानीय सरकारले वर्षायाममा प्राकृतिक विपत्तिबाट जुध्ने तयारी गर्न भ्याएको देखिँदैन । प्रदेश १ का विभिन्न जिल्लाहरूमा प्राकृतिक विपत्तिबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ । विपद् व्यवस्थापनको मुख्य भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारसँग समन्वय गरी छलफल मात्र गर्दै आएको छ । विपद् व्यवस्थापनका लागि सामान्य छलफल भए पनि परिणाम आउने गरी काम नभएको यस क्षेत्रका सर्वसाधारण बताउँछन् । वर्षाको भेलसँगै उर्लंदै आएका नदी, खोला नियन्त्रण गर्नका लागि तार, जाली खरिद गरेर जोखिमपूर्ण ठाउँमा लगाउनुपर्ने भए पनि अहिले समय अभावका कारण सबै कामले गति लिन सकेको छैन ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सुरक्षा निकायलाई विपद् व्यवस्थापनमा हाई अलर्ट र स्थानीय तहसँग छलफल भइरहेको बताए । ‘अहिले नै जिल्लामा यति ठूलो विपद् आइसकेको छैन’ उनले भने, ‘कहीँ समस्या आएको खण्डमा हामीले सुरक्षा निकायलाई हाई अलर्टमा राखेका छौं । त्यसको लागि स्थानीय तहसँग छलफल र समन्वय पनि गरिरहेका छौं ।’