धरान/ वर्षायाममा समेत धराने जनतालाई पर्याप्त खानेपानी वितरण गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला सतहको पानी फिल्टर गर्ने ‘र्यापिड स्याण्ड फिल्टर’ शनिबारबाट सञ्चालन गरिएको छ ।

एशियाली विकास बैङ्क (एडिबी) को ऋण अनुदानमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाले धरान–१३ मा निर्माण गरेको फिल्टर सञ्चालन गरिएको हो । आयोजनाले १ करोड ६० लाख लिटर क्षमताको र्यापिड स्याण्ड फिल्टर निर्माण गरेको छ । यो फिल्टरबाट शतप्रतिशत पिउनयोग्य पानी छानिने आयोजनाको दाबी छ ।

धरानको सर्दु र खर्दुबाट आउने सतहगत पानीलाई पिउनयोग्य बनाएर धरान–१३ कै रिजभ्र्वायर ट्याङ्की र धरान–१५ को रिजभ्र्वायर ट्याङ्कीमा पठाउने आयोजनाका व्यवस्थापक इञ्जिनियर राजु पोखरेलले बताए । उनले भने, ‘धराने जनतालाई सफा पानी खुवाउनुपर्छ भनेर मेयरसा’पको निर्देशन भएपछि पानी सफा गर्दैछौं, सम्भवतः भोलिबाट संस्थानको ट्याङ्कीमा पानी पठाउनेछौं ।’

धरानमा दैनिक तीन करोड लिटर पानीको माग छ । खानेपानी संस्थानले सुख्खा मौसममा भूमिगत स्रोतबाट ६० लाख लिटर, सतहगत स्रोतबाट ४० लाख लिटर गरेर एक करोड लिटर पानी आपूर्ति गर्ने गरेको छ । वर्षायामको बेला भने दैनिक संस्थानले ३ करोड लिटर पानी आपूर्ति गर्ने गरेको छ । सर्दुबाट एक करोड ५० लाख र खर्दुबाट एक करोड लिटर दैनिक पानी आपूर्ति हुने गरेको नेपाल खानेपानी संस्थान धरान शाखाका प्रमुख इञ्जिनियर रामकुमार श्रेष्ठले बताए ।

नगरप्रमुख तिलक राईको निर्देशनपछि फिल्टरमा पानी हाल्न थालिएको उनले पनि बताए । संस्थानसँग फकुलेटर र सेडिमेण्टेसन प्लाण्ट मात्रै रहेका छन् । फकुलेसन प्लाण्टमा औषधि हालेपछि खोलाबाट आएका स–साना फोहोरलाई ठूलो फोहोरमा परिवर्तन गरिदिन्छ र घुमाउरो बाटोबाट पानी सेडिमेण्टेसन प्लाण्टमा पठाइन्छ । सेडिमेण्टेसन प्लाण्ट चाहिँ एक प्रकारको पोखरीजस्तै हो ।

त्यहाँको पानीमा औषधि हालेपछि मात्रै रिजर्भ ट्याङ्कीमा पठाइने गरिन्छ तर, र्यापिड स्याण्ड फिल्टरमा चाहिँ सिधै खोलाको पानी हाले पनि फिल्टर गरेर पिउनयोग्य हुने आयोजनाको दाबी छ । धरानमा वर्षायामको बेलामा संस्थानले वितरण गर्ने पानी धमिलो नै आउने गरेको थियो ।

धरान उपमहानगरपालिकाका नगरप्रमुख राईले नगरवासीले आयोजनाप्रति आशङ्का जाहेर गरिरहेको अवस्थामा आयोजनाले निर्माण गरेको फिल्टर प्लाण्टलाई प्रयोग गर्न निर्देशन दिएको बताए । ‘करोडौं खर्च गरेर बनाएको आयोजनाको संरचना छ, किन धरानेहरूलाई स्वच्छ खानेपानी नदिने भनेर फिल्टरलाई प्रयोग गर्न निर्देशन दिएको हुँ’–उनले भने ।

उनले संस्थान र बोर्डका प्रमुखहरूलाई नै सतहको पानीलाई प्रयोग गर्नका लागि निर्देशन दिएको बताए । ‘आयोजनाको भनाइअनुसार शतप्रतिशत स्वच्छ पानी फिल्टर गरेर नगरवासीको धारामा पुर्याउने विश्वास छ, त्यसकारण यसको प्रयोग र सदुपयोग आजका मितिबाट गर्नुपर्छ भनेर आयोजना र संस्थानका साथीहरूलाई स्पष्टसँग निर्देशन दिएको हुँ’–उनले भने ।

खानेपानी व्यवस्थापन बोर्डले दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने भनी सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्घर्ष समितिसँग भएको सहमतिको ९ नम्बर बुँदामा उल्लेख गरेको छ तर, आयोजनाले कति पानी उत्पादन गरिरहेको छ भन्ने विषयमा अहिले पनि धराने जनता अन्यौलमै रहेका छन् ।