धरान । धरान–८ स्थित सभागृहको पछाडि निर्माण हुन लागेको नाटक घरको शिलान्यास गरिएको छ । संघीय सांसद् जयकुमार राईले नाटक घरको शिलान्यास गरे ।  

उनले आफूले संसद् बैठक छाडेर पार्टीको घोषणा पत्रअनुसार नाटक घर निर्माण गर्नका लागि धरान आएको बताए । उनले नाटक घर बनाउनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे । नाटक घरका लागि यस वर्ष सांसद् विकास कोषबाट उनले ४० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएका थिए । बजेट फ्रिज हुने अवस्थामा नाटक घर शिलान्यास गरिएको हो ।

परम्परागत शैलीको निर्माण हुने नाटक घर २ कठ्ठा क्षेत्रफलमा बन्न लागेको छ । २ तले बन्ने नाटक घरको भित्री भाग भने आधुनिक बन्ने भएको छ । जसमा प्रकाश, ध्वनिको उच्चतम प्रविधिको प्रयोग गरिने भएको छ । नाटक घर निर्माणका लागि पटकपटक धरान उपमहानगरका रङ्गकर्मीहरूले प्रयास गर्दै आइरहेका थिए तर सफल हुन सकेका थिएनन् ।

नाटक घर निर्माणका लागि अग्रज कलाकार प्रेम सुब्बाको संयोजकत्वमा नाटक घर निर्माण उपभोक्ता समिति गठन भएको छ । समितिका संयोजक सुब्बाले नाटक घर शिलान्यासका लागि व्यग्र प्रतीक्षामा रहेको बताए । उनले आज आएर नाटक घर निर्माणको चरणमा पुगेकोमा खुसी व्यक्त गरे ।

नाटक घर करिब २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने करिब ५ करोडको लागतमा बन्ने बताइएको छ । धरानमा नाटक वि.सं. १९९७ देखि नै सुरु भए पनि नाटक घर निर्माण हुन नसक्दा अन्य विकल्पका मञ्चहरू प्रयोग गरेर नाटक देखाउँदै आइरहेको थियो । २०३९ सालदेखि नाटककार अशेष मल्लले सडक नाटक सुरु गरेपछि नेपाली नाटकमा नयाँ क्रान्ति सुरु भएको थियो । धरानमा पनि सडक नाटक र कचहरी नाटकले निकै प्राथमिकता पाएको थियो ।

तर, पछिल्लो कालखण्डमा सुस्ताएको धरानको नाटकमा केही नयाँ प्रयोग शुरु भएको छ । कवि तथा पत्रकार राजेश विद्रोहीको कविता ‘जिन्दगीः इन्द्रधनुषी सपना’ लाई मञ्चन गर्दै २०७० सालमा एउटा प्रयोग गरिएको थियो । पछिल्लो पटक रङ्गभूमि एकेडेमीले लिम्बू संस्कृतिमा आधारित ‘इङ्घङ’ नाटक प्रदर्शन गरेर संस्कृतिलाई नाटकमा प्रयोग गरिएको छ । नाटक घर शिलान्यासले धरानका नाट्यकर्ममा खटिएकाहरूका लागि सन्तोष मिलेको नाटक घर निर्माण समितिका सदस्य हिमाल दाहालले बताए ।