धरान  / धनकुटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटादेखि धरानसम्म त्रास बढेको छ ।

जिल्ला अस्पताल धनकुटाको प्रसुती विभागमा कार्यरत ती नर्सले रेफर गरेका विमारी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकाले धरानमा समेत त्रास बढेको छ । केही दिनअघि ती नर्सले हेरेका ६ जना महिलालाई सुत्केरी गराउन प्रतिष्ठान ल्याइएको थियो । धनकुटा अस्पतालले रेफर गरेको विमारीका विषयमा जानकारी गराए पछि प्रतिष्ठानको प्रसुती विभागको सेवा बन्द गरिएको छ । दुई दिनका लागि प्रसुती सेवाको भर्ना बन्द गरिएको प्रसुती विभागका विभागीय प्रमुख प्राडा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिष्ठानको प्रसुती विभागमा दैनिक ३० देखि ३५ जना विमारी भर्ना हुदैं आएका थिए । हाल प्रसुती विभागकाे वार्डमा हाल ६० जना भन्दा बढि विमारी उपचार गराइरहेको प्राडा रेग्मीले जानकारी दिए ।

‘नयाँ विमारी भर्ना बन्द गरिएको छ । प्रतिष्ठानमा उपचार गराइरहेका ६०/७० जना विमारीलाई पनि निगरानीमा राखिएको छ ।’–प्राडा रेग्मीले भने–‘तत्कालको अवस्थामा कसैलाई डिस्चार्ज गरिदैंन् ।’ प्रसुती विभाग पुरै शिल गरिएको छ । प्रसुती विभागमा आफन्तलाई उपचार गराउन आएका हाम्रा समाचारदाता सन्तवीर लामाका अनुसार हिजो मात्र सुत्केरी गराएकी एक जना विमारीलाई संक्रमणका आशंकामा अस्पतालले आइसोलेसनमा रेफर गरेको छ । 

यता यही समयमा प्रतिष्ठान प्रशासनले ओपिडी सेवा सुचारु गर्न लागेको बताइएको छ । ओपिडी सेवा संचालन गर्दा झन धरान असुरक्षित हुने धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले जानकारी दिए । प्रतिष्ठानको आम्दानी घटेको भन्दैं प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले ओपिडी संचालन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए पछि अस्पतालका निर्देशक प्राडा गौरीशंकर साहले आज सबै विभाग निरीक्षणसमेत गरेका थिए । स्थानीय तहसँग कुनै समन्वय नै नगरि ओपिडी सेवा संचालन नगर्न वडाध्यक्ष राईले आग्रह गरेका छन् ।