धरान । धनकुटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा अस्पताल क्षेत्र शिल गरिएको छ ।

स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ नम्बर वडालाई चार किल्ला तोकर शिल गरेको हो । जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार आकस्मिक रूपमा सुरक्षा प्रमुख तथा सरोकारवालाहरूसँग बैठक बस्दै अस्पताल क्षेत्रलाई शिल गर्ने निर्णय गरेको हो । निर्णय बमोजिम धनकुटा–७ को त्रिवेणी गेटबाट बसपार्क, जीरोपोइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हलसम्मलाई चार किल्ला तोकिएको छ । यस क्षेत्रमा आवातजावत पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।

प्रदेश १ को उदयपुर सबैभन्दा बढी संक्रमण भएको क्षेत्र रहेको छ भने भोजपुर, झापामा यसअघि नै संक्रमित भेटिएका थिए भने मोरङ र धनकुटामा आइतबार मात्रै नयाँ संक्रमित भएको पुष्टि भएको थियो । शनिबार चार जना स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मीको स्वाब संकलन गरी परीक्षणका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । संक्रमित महिलाको स्वाब पुनः परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । अहिले धनकुटा अस्पतालमा उच्च सुरक्षा अपनाइएको छ ।