सामान्य जीवनमा कसरी फर्किएला !

alt
  • जेठ १, २०७७
  • रामचन्द्र अधिकारी

नेपालीहरू बाहिरी बलमा मात्र होइन भित्री चूरमा नै बलिया रहेछन् भन्ने एउटा बिउले हाम्रो मनमा अंकुरण गरेको थियो । हो कि–हो कि भन्दै गर्दा कोरोनाका संक्रमित भटाभट देखिन थाले । देखिने गतिले तीव्र रूप लिएर अब त तेस्रो चरणमा कोभिड–१९ नेपालमा फैलियो भनेर विज्ञहरूले भन्न थालिसके । तथापि सरकारले दोस्रोमै भएको दाबी गरिरहेको छ । त्यसैले नेपालीको भित्री बल अर्थात् रोगप्रतिरोधात्मक क्षमताले थाम्न छोडेको हो कि जस्तो भो ! यसअघिदेखि नै क्षमतावान् बीसीजी खोपलाई पनि श्रेय दिइँदै आइएको छ । विश्वका विविध देशलाई हेर्दा यसमा पनि विश्वास गर्ने आधारचाहिँ नभएको होइन ।

अब त खुला जनजीवन साविक झैँ होला भन्ने लाग्न थालेपछि फेरि हामी त्रसित र अक्रान्त बनेका छौँ । हाम्रोमा त भर्खरै पो आउँदैछ कि जस्तो भो । दुई महिनाको गुप्तबास अन्त्य हुनै लाग्दा अरू लम्बिने चिन्ता बढेको छ । मानिसले घरमा जोहो गरेको खाद्यान्नलगायतका सामग्रीहरू सकिँदै छन् । उद्योगले उत्पादन प्रसस्त दिन सकेको छैन । पारवहन पूर्णरूपमा सञ्चालित छैन । उत एउटा मौसममा, एउटा छिमलमा किसानले उब्जाएका तरकारी र खाद्यान्नले बजार भेटेनन् । कतिपय कुहिएर गए कति सस्तो भाउमा गयो । अब नयाँ खेती गर्ने कि नगर्ने, गर्दा कसरी ? मुुस्किल अवस्था आएको छ । औषधिहरूको अभाव हुन लागेको छ । यतिञ्जेल मौसमी बिरामहरूले धेरैलाई हानेनन् अब त थुनिदाथुनिदा मानिस रोगी बन्ने होलान् र अस्पताल नगई नहुने अवस्था आउला ! हामीलाई चिन्ता छ–कसरी सामान्य जीवन शैलीमा आइने हो ।

अब कसरी जीवन काममा फर्किएला भनेर अनुमान गर्न विगतका अनुभवहरू हेरौँ । आजमात्र होइन मानव जगत्ले विगतमा पनि धेरै महामारीको सामना गरेकै हो । कुनै समयमा फैलिएको भाइरल विश्वमहामारीले विश्वको एक तिहाई जनसंख्या सखाप भएको थियो । यही अहिलेको कोरोनाले पनि आधाभन्दा बढी जनसंख्या सक्छ भनेर पूर्वअनुमान गर्दैै बेलायतको एक अनुसन्धान टोलीले विश्व स्वास्थ्य संगठनलाई अध्ययन प्रतिवेदनसहितको ज्ञापन दिएको थियो । सो टोलीले विगतमा फैलिएका महामारीका आधारमा पनि अनुमान लगाएको थियो । तर जमाना उबेलाभन्दा फरक थियो, अहिले चिकित्सा विज्ञान र जैविक प्रविधिले ठूलो फड्को मारेको अवस्था भएको हुनाले क्षति कम होला । अनि, उनीहरूले सात लाखदेखि २२ लाख जनासम्म मानिस मर्ने अनुमानमा चाहिँ आफ्नो अडान राखे । हेर्दै जाउँ उनीहरूको अडान कति बलियो छ र कामना गरौँ उनीहरू कुरा हावामा उडोस् ।

विगतकै महामारीको कुरा जारी– ती खतरनाक महामारीको कसरी अन्त्य भयो ? छैटौँ शताब्दीदेखि चलेको प्लेग रोगले करोडौँ मानिसको ज्यान खायो । त्यसलाई ब्ल्याक डेथ भनिन्छ । यो तेसैउसै हरायो । महामारी चाहिँ हरायो तर प्लेग रोग अहिले पनि मौका हेरेर बसिरहेको छ । कहिलेकाहीँ तर्साउने र धम्क्याउने काम गरिरहेकै छ । तेह्रौँ शताब्दीमा चीनबाट सुुरु भएको अर्को महामारीले युरोप पुगेर त्यहाँको एक तिहाई जनसंख्यालाई शवमा रूपान्तरण गरिदियो । ती शवको व्यवस्थापन नगरी सकियो । सो महामारी पनि उसै सकियो । सन् १८५५ मा अर्को महामारी चीनबाटै सुरु भएको थियो । त्यसले भारततिर झरेर एक करोड २० लाख मानिसको मृत्यु गरायो । प्लेग जतिबेला फैलिएर आयो यसको कारण पत्ता लाग्यो– मुसामा बस्ने उपियाँ, उपियाँमा बस्ने एक किसिमको ब्याक्टेरियाले प्लेग लगाउँदो रहेछ । अनि त मुसा नियन्त्रणका उपाय निकालियो । पार लागेन । अन्तिममा गाउँका गाउँमा आगो लगाएर खरानी बनाइयो । त्यो प्रयासले हो कि होइन यो रोग पुनः नियन्त्रणमा आएको पाइयो ।

विगतका थुप्रै महामारीहरू ऋतु परिवर्तन भएपछि थान्कोमा रहेको पनि पाइएको छ । जस्तैः जाडो सिजनमा फैलिएका रोग गर्मी लागेपछि भाग्ने वा गर्मीका रोग जाडोमा नियन्त्रित हुने । अब हालको कोरोनाले जाडो पचाएर गर्मी पनि निकै खाइसकेको छ, टेरेको छैन विगतजस्तो ।

अझै विश्वमहामारीका इतिहास नै हेरौँ । किनभने इतिहास ठूलो सिकाइ हो र यसैका आधारमा वर्तमान चलेको हुन्छ अनि भविष्य निर्धारण गर्न सजिलो पनि हुन्छ । १७ औँ शताब्दीमा बिफरले विश्वमहामारीको रूप लियो । जिउँमा मसिना बिमिरा निस्कने, ज्वरो आउने, चिलाउने, पोल्ने लक्षण हुने यो रोगले मानिसलाई कमजोर बनाएपछि अरू ब्याक्टेरियाहरूले सजिलै आक्रमण गर्ने र मानिसको मृत्यु गराउने गरेका थिए । भाग्यवश १७९६ मा एडवर्ड जेन्नर नामका वैज्ञानिकले बिफरविरुद्धको खोपको विकास गरे । सो खोप यति द्रुत गतिमा विस्तार गरियो कि उहीबेला चलिरहेको रोगलाई नियन्त्रणमा लिन सकियो । आज पनि यो खोप यति प्रभावकारी छ–विफरलाई विश्वबाटै उन्मूलन गरायो ।

जतिबेला पहिलो विश्वयुद्ध चलिरहेको थियो– सन् १९१८ मा अनायसै इन्फ्लुुएन्जा रोग फैलियो, यसलाई स्पेनिस इन्फ्लुएन्जा भनियो । अन्त्यहीन प्रकृतिको विश्वयुद्धले शिथिल भएको मानव जगत् अब प्राकृतिक प्रकोपसँग सामना गर्न पुग्यो । विभाजित मनहरू एकाकार हुनुपर्ने स्थिति आयो । सबै लडाकु देशहरूका सेनाहरू थलिन थाले । निकास नपाइरहेको विश्वयुद्ध यही महामारीका कारण रोकियो । त्यतिबेला चेतनाको विकास निकै भइसकेको थियो । विज्ञान प्रविधि र चिकित्सा विज्ञान, चिकित्सा शिक्षा र चिकित्सा सेवाको प्रभाव स्थापित भइसकेको थियो । सोबेला विज्ञहरूले क्वारेन्टाइनमा बस्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नुे जस्ता सुुझाव दिए । सोहीअनुसार गरियो । त्यतिमात्र होेइन विश्वयुद्धले विभिन्न देशलाई परनिर्भरताबाट हटायो, ईख लिएर विकासमा लागे, आर्थिक क्रान्ति भयो, अनि मानिसको जीवनशैलीमा नै परिवर्तन आयो । सो परिवर्तित जीवनशैली पनि उक्त महामारीको नियन्त्रक सूत्र बन्यो ।

१९६८ मा अर्को महामारी फैलियो जसलाई हङ्कङ् फ्लू भनियो । यो फ्लूसँग मानिसको लडाइँ विभिन्न किसिमले भयो । अन्त्यमा यसको भाइरसविरुद्धको प्रतिरोधी क्षमता बढेर आयो र यो महामारी थान्कामा रहयो । तथापि–अद्यापि यसले मानव जगत्लाई छोडेको भने छैन । हामीलाई लाग्ने मौसमी रुघाखोकी यसैको अवशेषको उपस्थिति हो ।

इतिहासबाट लिएका अनुभव छँदैछन् । हालको अवस्थाको अध्ययन, अनुसन्धान र मूल्यांकन गरीकन सम्बन्धित विषयका विज्ञहरूले शासकहरूलाई सुझाव दिइरहेका छन् । अबको जीवन कसरी सामान्य बन्छ, अबको लकडाउनको मोडल र प्रक्रिया कस्तो हुन्छ, यो विश्वचर्चाको विषय भएको छ । चीन, जर्मनी, स्पेन, कोरिया, इटलीलगायतका देशहरूले लकडाउन विस्तारै खुुकुलो पारेका ठाउँहरूमा पुनः कडाइ गरेका छन् । तसर्थ लकडाउन खुकुलो पारिहाल्दा पनि समस्या दोहारिएर उग्ररूप लिन सक्छ । नखोली राख्दाको परिणाम व्याख्या गरी साध्य छैन । यसले आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा र मानिसको दैनिकीमा मात्र होइन प्रत्येक व्यक्तिको अस्तित्वमा नै प्रश्न चिन्ह ल्याइसकेको छ । भोलिका दिनमा यस्तै कडाइमा बसिरहनु परेमा के हुने हो, भयानक परिणामहरू भोग्नु पर्ने हुन्छ । त्यसैले सरकार सञ्चालकहरूले पनि यसै गर्ने भनेर यकिन निर्णय लिन सकिरहेका छैनन् ।

वैज्ञानिकहरूको रायका आधारमा कुनै पनि महामारी नियन्त्रणमा ल्याउनका लागि तीन वटा उपायहरू अपनाइन्छ । तीमध्ये पहिलो हो– खोपको विकास । खोपको विकास भन्नेबित्तिकै हुँदैन । यसका लागि त छिटोमा आठ हप्ता भनिन्छ तर प्रक्रिया पूरा गरेर पूर्ण परीक्षण गरिसक्न कम्तीमा दुई वर्ष र बीचमा केही असफलता भयो भने २० वर्ष पनि लाग्न सक्छ । हुने भए, सजिलो भए त अहिले सयकडौँ रोगहरूको सामना मानिसले गरिरहेका छन् । जसमध्ये २७ वटा रोगका मात्र खोप विकास भएका छन्, अरू किन भएनन् ? खोप बनाउन चार वटा चरणहरू पूरा गर्नुपर्छ । पहिला प्रयोगशालामा एन्टिजिन एन्टिवडीको प्रतिक्रिया गराई हेर्नुपर्छ, त्यो सफल भएमा मानिससँग मिल्दाजुल्दा जनावर जस्तैः बाँदर, मुसा आदिमा परीक्षण गर्नुपर्छ, त्यसपछि सो पनि सफल भएमा एक सय जना मानिसको समुदायमा परीक्षण गर्नुपर्छ । यी तीन चरण पार गरेपछि अब कुनै÷केही देश वा महादेश विशेषमा लक्षित गरी लाखौँ मानिसमा लगाएर हेर्नुपर्छ । बीचमा देखिएका कमजोरी र खराब पक्षहरूको सुधार गर्दै पनि लानुप¥यो । यी सबैले प्रगतिशील बाटो समाए भने अबचाहिँ आममानिसमा यसलाई खोपको रूपमा चलाउन सकिने हो । कोरोना भाइरसविरुद्धको खोप निर्माण प्रक्रिया अहिलेसम्म प्रयोगशालामा नै छ । धेरै देशहरूले प्रयास जारी राखेका छन् किनकि जुन देश सफल हुन्छ उसले नै विश्व अर्थतन्त्र आफ्नो कब्जामा पार्ने कुरामा ग्यारेन्टी नै छ । त्यसैले होडबाजीमा सबै सफल बनून् र चाँडै खोप बनोस् अनि मानवजगतको रक्षा गरोस् ।

दोस्रो निकास भनेको आफैँमा रोग प्रतिरोधी क्षमताको विकास गर्नु हो । यो कसरी हुन्छ ? वातावरणमा अनुकूलन हुने सबै जीवहरूको आधारभूत विशेषता हुन्छ । यसैअनुसार यो कोरोनाभाइरस हाम्रो शरीरमा आएपछि यसको असरले शरीरको जैविक प्रक्रियालाई जित्न नपाउँदैमा शरीरले यथेष्ट एन्टिबडी उत्पादन गर्न सक्नु पर्छ । यससँग घुलमिल हुन थालेपछि यस्तो क्षमता विकास हुन्छ । निरन्तर लकडाउन भइरहँदा यो अवसर नआउन सक्छ । त्यसैले कसैले (जस्तैः संयुक्त राज्य अमेरिका) बिना लकडाउन मिच्न सकिएला कि भन्ने सोचमा अद्यापि समय बिताइरहेका छन् । किनभने सो देशले लकडाउनलाई निकै ढिलो गरी अपनाएको हो र अहिले पनि खोल्न आतुर छ । उसको भनाइ छ कि केही मानिस मर्लान् तर अधिकांशको प्रतिरोधी क्षमता विकास हुन्छ । जर्मनी, इटली पनि सुरुमा आफैँ ठीक हुन्छ, लकडाउन जरुरी छैन भन्ने हिसाब गरेर बसे । तर उनीहरूले हिसाब गरेभन्दा अक्रामक रूपमा कोभिड फैलियो र लकडाउनमा आए । विगतका अधिकांश महामारी यस्तै किसिमले (बिना लकडडाउन) सेलाएका थिए । यसभित्रको अर्को वैज्ञानिकता के छ भने भाइरसले जति धेरै मानिसलाई आक्रमण गर्र्दै जान्छ उति नै आफू कमजोर पनि बन्दै जान्छ । त्यसैले धेरै मानिस एकैसाथ बाहिर आउने हो भने भाइरसले केहीलाई त लडाउला तर अन्त्यमा ऊ आर्फैँ लड्छ भन्ने मान्यता हो । कति समयमा यस्तो प्रतिरोधी क्षमता विकास हुन्छ त ? यसका लागि दुई वर्षजति समय लाग्ने विज्ञहरुको भनाइ छ ।

तेस्रो समाधान भनेको जीवनशैली र व्यवहारमा परिवर्तन । यो कस्तो प्रक्रिया हो त भन्दाखेरि मानौ अहिले कुनै स्कुलले एउटा कक्षामा ५० जना विद्यार्थी राखेर पढाउँछ भने अब २५ मात्र राख्ने । त्यस्तैः आज सुपरमार्केटमा गएर किनमेल गरिन्छ भने अब घरबाटै सामान माग गर्ने र माग बमोजिमको सामान बिक्रेताले घरसम्मै पुर्याइदिने । भिडभाडको शैली परिवर्तन गर्ने, प्रत्येक व्यक्ति अलगअलग कोठामा नभए पनि बेग्लै ओच्छ्यानमा सुत्ने, सार्वजनिक यातायातमा पातलो गरी यात्रु बस्ने आदि । सन् १९१८ को स्पेनिस फ्लुबाट उन्मुक्ति पाउन जानेर÷नजानेर वा बाध्यतावश या प्रविधि विकास या देश विकास गर्ने अठोट जुनसुकै कारणले भएपनि उनीहरूको परम्परागत जीवनशैली परिवर्तन भएकै हो । यसले मानिस सो समस्याबाट छुटकारा लिन सफल भयो । हाम्रो माछा मासु खाने बानी, जंगली जनावरको शिकार गर्ने बहादुरी, घरमा कुकुर बिरालो भित्रै राख्ने बानी, पशुपालनको व्यवसायिकता र पशुसँगको सामिप्यता, हात मिलाउने वा गला मिलाउने चलन या त गोडामा ढोग्ने चलन, हलमा जम्मा भई कार्यक्रमहरू गर्ने, फिल्महलमा जाने, हटिया लगाउने, रेलयात्रा, फोहोरीपना, वातावरण विनाशजस्ता शैलीहरूलाई परिवर्तन गर्न आवश्यक छ । यसले कोरोनामात्र होइन अरू पनि महामारीबाट सुरक्षित राख्छ ।

अन्त्यमा, कोरोनाको संक्रमणबाट सुरक्षित हुन अपनाउनुपर्ने निर्विकल्प उपाय लकडाउन नै थियो । तर, लामो समयसम्मको लकडाउन नै अन्तिम समाधान होइन । साथै यसले अरू समस्या ल्याउने भो । त्यसैले अब बाँकी विकल्पका बारे सोच्ने बेला आएको छ ।

Email: [email protected]
Mobile no. 9852034615
Assistant professor, Tribhuvan University, Post Graduate Campus,Biratnagar, Morang

बलिउडका म्यूजिक कम्प ...

धरान । बलिउडका चर्चित म्युजिक कम्पोजर वाजिद खानको आज (स ...

धरानमा आफ्नै छोरीलाई ...

धरान । धरान–१७ मा १४ वर्षीया आफ्नै छोरीमाथि बलात् ...

आजको राशिफल, जेठ १९ ...

विसं २०७७ जेठ १९। सोमवार। इस २०२० जुन १। नेसं ११४० तछला ...

धरान उपमहानगरका पूर् ...

धरान । घरेलु कामदारको रूपमा रहेकी तराई क्षेत्रको एक सीम ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved