देउराली/ मिस नेपाल २०२० को धरान अडिसन आज धरानको गोर्खा किचनमा हुँदैछ ।

मिस नेपाल २०२० का लागि प्रतियोगी छान्न पूर्व मिस नेपाल निकिता चण्डक लगायत हिडेन ट्रेजर टोली धरान आइपुगेको छ । आफूमा लुकेर रहेका प्रतिभाहरूलाई प्रस्फुटन गर्न कार्यक्रममा सहभागी बन्न निर्णायकसमेत रहेकी पूर्व मिस नेपाल निकिता चण्डकले आग्रह गरिन् । अडिसनका लागि प्रवेश शुल्कबापत दुई हजार रुपैयाँ लाग्ने टिमले जनाएको छ ।

छनोट भएपश्चात् मिस नेपालले दिने बन्द प्रशिक्षणमा भने कुनै खर्च नलाग्ने आयोजकले जनाएको छ । सम्पूर्ण क्षेत्र र समुदायका प्रतियोगीहरूलाई प्रतिस्पर्धामा ल्याउन यसपालि काठमाडौँ, पोखरा, धरान, चितवन, बुटवल, वीरगञ्ज, बिर्तामोड, धनगढीमा अडिसन लिइने भएको छ । जसअन्तर्गत झापाको बिर्तामोडको अडिसन सम्पन्न भएको स्थानीय संयोजक सिल्भर इण्टरटेन्मेण्टले जनाएको छ । सोमबार अडिसनमा सहभागी हुन चाहनेका लागि छलफल कार्यक्रम राखिएको थियो ।

प्रतियोगितामा सहभागी हुनका लागि आयोजक हिडन ट्रेजरले निश्चित मापदण्डहरू कायम गरेको छ । जसमा प्लस टु उत्तीर्ण गरेका १८ देखि २६ वर्ष ननाघेका युवतीहरू सहभागी हुन पाउनेछन् । जसका लागि ५ फिट ४ इञ्च उचाइ हुनुपर्ने बताइएको छ । प्रतियोगिताको फाइनल आउँदो मे १५ तारिख काठमाडौंमा हुने जनाइएको छ ।

प्रतियोगिताका लागि मिस पूर्वाञ्चल, मिस पोखरा, मिस अष्ट्रेलिया, मिस युरोपले सिधै प्रवेश पाउनेछन् । यस वर्षको विजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछ । तर, उक्त रकम भने त्रैमासिक भत्ताका रूपमा दिइने जनाइएको छ । २०१७ की मिस नेपाल निकिता चण्डक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत धरानमा निर्णायकका रूपमा रहनेछन् ।