विजयपुर । ठूलो लगानी र लामो प्रतीक्षापछि सञ्चालनमा ल्याइएको धरान-८ स्थित नयाँ बसपार्क सञ्चालनमा आएको तीन महिनामै सङ्कटमा परेको छ ।

गत असार १३ गते उद्घाटन गरिएको तीनकुने-सुन्दर बस्ती विकास आयोजनाभित्रको बसपार्कमा लामो दूरीका बस स्थानान्तरण गरिए पनि अपेक्षाअनुसार यात्रु पुग्न नसकेको भन्दै यातायात व्यवसायीले पुनः भानुचोकबाटै बस सञ्चालन गर्न थालेका छन् । 

असोज १३ गते भानुचोकबाटै बस सञ्चालन गर्न दिने गरी कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाको तोकआदेशमा बस सञ्चालन सुरु गरेको पाइएको छ । आदेशमा हाललाई नगर बस वा सटल बस सञ्चालन नभएसम्म इटहरीबाट धरान आउने यात्रुवाहक सवारीसाधनले नयाँ बसपार्कमा यात्रु ओरालेपछि भानुचोकसम्म जान इच्छुक यात्रुलाई भानुचोकसम्म ल्याउन दिने उल्लेख छ ।

त्यस्तै भानुचोकमा साविक विराटनगर जाने बस लाग्ने स्थानमा ‘पिक एन्ड ड्रप’ सुविधा दिने, तर एकपटकमा दुईवटाभन्दा बढी सवारीसाधन रोक्न नपाउने र त्यहाँ पार्किङ गर्न नपाउने आदेशमा उल्लेख छ । नयाँ बसपार्कमा पालो नलगाई सिधै जाने व्यवस्थालाई भने कडाइका साथ कार्यान्वयन गर्ने आदेशमा उल्लेख छ । सहमति उल्लङ्घन गरे पहिलोपटक १ हजार रुपैयाँ र त्यसपछि प्रत्येकपटक दोब्बरका दरले जरिबाना गर्ने तथा नगर प्रहरीले जरिबाना असुल गर्ने व्यवस्था गरिएको छ ।

बसपार्कमा यात्रु आवागमन सहज बनाउन सटल बस सञ्चालनका लागि दुईवटा बस वा चारवटा विद्युतीय गाडी भाडामा लिने प्रक्रिया अघि बढाउने पनि आदेशमा उल्लेख छ । धरानलाई सुरुवाती बिन्दु बनाएर नयाँ बसपार्कबाट पहाडी रुटमा चल्ने यात्रुवाहक बस तथा साना सवारीसाधनलाई समेत पुरानो विराटनगर स्ट्यान्डमा पिक एन्ड ड्रपको सुविधा उपलब्ध गराउने भनिएको छ । नयाँ बसपार्कदेखि भानुचोक र भानुचोकदेखि नयाँ बसपार्कसम्म यात्रुलाई निःशुल्क ओसारपसार गर्ने व्यवस्था मिलाउने पनि आदेशमा उल्लेख छ ।

भानुचोकमा पुनः बस लगिएकोमा स्थानीयको विरोध

भानुचोकबाट बस सञ्चालन हुन थालेपछि धरान-८ र धरान-१५ का स्थानीयवासी भने आन्दोलित बने । एमाले नेता नारायण सुवेदीका अनुसार लाङ्घाली, बरगाछीलगायत पाँचवटा टोल विकास संस्थाले बुधबार नयाँ बसपार्क सञ्चालनको माग गर्दै दबावमूलक आन्दोलन गरेका थिए । आन्दोलनपछि बुधबार नै नगरपालिकाले यातायात व्यवसायी र स्थानीयवासीसँग छलफल गर्‍यो । छलफलमा कार्यवाहक नगर प्रमुख बेघाले बसपार्कको विषयमा नकारात्मकता फैलाउने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

यस विषयमा थप प्रतिक्रिया लिन बेघासँग पटक-पटक फोन गर्दा उठेन । संयुक्त टोल विकास संस्थाका अध्यक्ष तथा स्थानीय विष्णु बास्तोलाले १५ दिनभित्र नगर बस सञ्चालनको योजना अघि बढाउने सहमति भएको बताए । उनका अनुसार सो अवधिसम्म स्थानीयवासीले सहयोग गर्ने र त्यसपछि सबै गाडी नयाँ बसपार्कबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता नगरबाट आएको छ । नेपाल यातायात व्यवसायी सङ्घ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठले पनि १५ दिनभित्र दुईवटा नगर बस वा चारवटा विद्युतीय गाडी सञ्चालनका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता भएको बताए ।

यातायात व्यवसायीले नयाँ बसपार्क सञ्चालनमा समस्या आउनुको मुख्य कारण उपमहानगरको कमजोर व्यवस्थापन भएको बताएका छन् । उनीहरूका अनुसार भानुचोकबाटै टेम्पो, ई-रिक्सा, सफारी, बोलेरो तथा अन्य विद्युतीय सवारीसाधनले यात्रु उठाउने क्रम नरोकिँदा यात्रु नयाँ बसपार्कसम्म पुग्न सकेका छैनन् । नेपाल यातायात व्यवसायी सङ्घ कोशी प्रदेशका अध्यक्ष श्रेष्ठले नयाँ बसपार्क सञ्चालनका लागि आवश्यक वातावरण उपमहानगरले बनाउन नसकेको बताए ।

“नगरका कारणले नै कोही पनि यात्रु नयाँ बसपार्क पुगेनन्” श्रेष्ठले भने, “टेम्पो तथा ई-रिक्साले यात्रुलाई बसपार्कसम्म पुर्‍याएनन् । भाडा पनि महँगो लिए । मौका पर्दा अढाईगुणासम्म माडा लिएको गुनासो छ ।” व्यवसायीका अनुसार नयाँ बसपार्कसम्म पुग्दा टेम्पो तथा सफारीको भाडा महँगो पर्ने र कतिपय अवस्थामा यात्रुलाई बसपार्कसम्म नपुर्‍याउने समस्याले पनि यात्रु प्रभावित भएका छन् ।

श्रेष्ठले बसपार्क सञ्चालनका विषयमा उपमहानगरको कार्यपालिकाभित्र समेत एकमत नरहेको दाबी गरे । उनका अनुसार कतिपय वडाध्यक्षले व्यवसायीलाई भानुचोकमै बस ल्याउन आग्रह गर्ने गरेका छन् । “वडाध्यक्षहरूले नै व्यवसायीलाई भानुचोकमा बस ल्याउनू भन्ने गरेको सुनिन्छ । हामीले पनि थाम्न नसक्ने अवस्था भयो” श्रेष्ठले भने, “त्यसैले बस भानुचोकमा लगे ।” नयाँ बसपार्क सञ्चालनका लागि वार्षिक १ करोड २ लाख रुपैयाँमा ठेक्का लागेको छ । बसपार्क नियमित रूपमा सञ्चालन हुन नसके उपमहानगरपालिकालाई ठूलो आर्थिक घाटा हुने देखिएको छ । 

यता धरान उपमहानगरका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले बसपार्क सारिएपछि भानुचोकमाथिका यात्रुको असुविधाप्रति उपमहानगर गम्भीर रहेको बताउँदै १५ दिनभित्र समस्याको समाधान खोज्ने बताए । तत्कालका लागि काँकरभिट्टा र विराटनगरका बसहरूलाई भानुचोकबाट सीमित समयभित्र यात्रु चढाउने र ओराल्ने सहमति भएको उनको भनाइ छ । ८ र १५ नं. वडावासीको पनि गुनासो चाँडै सुनुवाइ गरिने प्रमुख बेघाको भनाइ छ ।

825311101_1963385927673715_1721910830009414245_n