विजयपुर । धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले धरान–८ स्थित नयाँ बसपार्क सञ्चालनलाई सहज बनाउन पुनः अर्को आदेश दिएका छन् ।

शुक्रबारदेखि भानुचोक–नयाँ बसपार्क रुटमा नगरकै निःशुल्क माइक्रोबस सञ्चालन हुने भएको छ । बिहीबार धरान–८ का वडाध्यक्ष धनबहादुर राईसहित आन्दोलनरत स्थानीयसँग भएको छलफलपछि कार्यवाहक नगरप्रमुख बेघाले १४ सिट क्षमताको नगर माइक्रोबस सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

उपमहानगरका प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाका अनुसार माइक्रोबसले भानुचोकदेखि नयाँ बसपार्कसम्म यात्रु ओसारपसार गर्नेछ । यात्रुले उक्त सेवा निःशुल्क पाउनेछन् । माइक्रोबसमा १४ जना अटाउने क्षमता छ । उनले माइक्रोबसको नम्बर भने आफूलाई जानकारी नभएको बताए ।

यसअघि असोज १३ गते कार्यवाहक नगरप्रमुख बेघाले इटहरीबाट धरान आउने यात्रुवाहक सवारीसाधनलाई नयाँ बसपार्कमा यात्रु ओरालेपछि भानुचोकसम्म जान चाहने यात्रुलाई भानुचोकसम्म ल्याउन दिने आदेश गरेका थिए ।

भानुचोकमा साविक विराटनगर जाने बस लाग्ने स्थानमा ‘पिक एन्ड ड्रप’ सुविधा दिने व्यवस्था गरिएको थियो। तर, एकपटकमा दुईवटाभन्दा बढी सवारीसाधन रोक्न नपाउने र उक्त स्थानमा पार्किङ गर्न नपाउने आदेशमा उल्लेख थियो।

नयाँ बसपार्कमा पालो नलगाई सिधै जाने व्यवस्थालाई कडाइका साथ लागू गर्ने तथा सहमति उल्लङ्घन गर्ने सवारीसाधनलाई पहिलोपटक एक हजार रुपैयाँ र त्यसपछि प्रत्येकपटक दोब्बर जरिवाना गर्ने व्यवस्था पनि गरिएको थियो।

बसपार्कमा यात्रु आवागमन सहज बनाउन दुईवटा बस वा चारवटा विद्युतीय गाडी भाडामा लिएर सटल सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत भएको थियो । बुधबार स्थानीय तथा यातायात व्यवसायीसँग भएको बैठकमा नगर बस वा सटल बस सञ्चालनको प्रक्रिया अघि बढाउने मौखिक सहमति भएको थियो। तर, त्यसको भोलिपल्टै वडा नं. ८ का वडाध्यक्षसहित स्थानीयसँगको छलफलपछि कार्यवाहक नगरप्रमुख बेघाले तत्काल नगरको माइक्रोबस सञ्चालन गर्ने निर्णय गरेका हुन्। नगरको पछिल्लो आदेशसँगै भानुचोक र नयाँ बसपार्कबीच यात्रु आवागमन सहज हुने अपेक्षा गरिएको छ