विजयपुर । धरान खेलकुद मञ्चले खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा अग्रज खेलाडीलाई सम्मान गरेको छ ।
शुक्रबार आयोजित ‘धरान लाइफ एचिभमेन्ट अवार्ड’को तेस्रो संस्करणमा विभिन्न विधाका खेलाडी तथा खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको हो । कार्यक्रममा उत्कृष्ट प्रशिक्षकको सम्मान करातेका प्रशिक्षक किरण लामाले प्राप्त गरे । यस्तै, उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड करातेका प्रमोद राई र उत्कृष्ट वर्ष महिला खेलाडीको अवार्ड फुटबल खेलाडी प्रतीक्षा राईले प्राप्त गरिन् । उनीहरूलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी, दर्शक तथा सर्वसाधारणको सहभागितामा छनोट गरिएको ‘पब्लिक च्वाइस’ अवार्डमा करातेका निगम तिम्सिना प्रथम भए । उनले २५ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । पब्लिक च्वाइसतर्फ टेबल टेनिसका श्रेय सुवेदी दोस्रो र करातेका साहिल राई तेस्रो भए । उनीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा खेलकुद क्षेत्रमा लामो समय योगदान पुर्याएका अग्रज खेलाडीलाई प्रदान गरिने ‘लेजेन्डरी’ सम्मानबाट पूर्व राष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइली सम्मानित भइन् । उनलाई ११ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, खेलकुद क्षेत्रको समाचार सम्प्रेषण तथा पत्रकारितामार्फत योगदान पुर्याएकोमा पत्रकार गोविन्द बस्नेतलाई १० हजार रुपैयाँसहित सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानित खेलाडी तथा प्रशिक्षकलाई धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले सम्मानपत्र प्रदान गरे ।
धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा खेलकुदसँग सम्बन्धित व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘धरान लाइफ एचिभमेन्ट अवार्ड’लाई निरन्तरता दिइएको बताए । उनले अवार्डले धरानको खेलकुद क्षेत्रमा योगदान गर्ने नयाँ पुस्ताका खेलाडी तथा प्रशिक्षकलाई थप प्रोत्साहन मिल्ने बताए ।


































