धरान । सुनसरीको धरानस्थित सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका लागि जग्गा व्यवस्थापनको काम अगाडि बढेको छ ।

सुनसरीको धरानमा २०४१ सालमा स्थापना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले हालसम्म भाडाको घरबाट कामकारबाही गर्दै आएको थियो । कार्यालय हाल धरान-८ स्थित भाडाको भवनमा रहेको छ । जग्गाका लागि पहल गरिदिन भन्दै नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँका प्रमुख आईजीपी दानबहादुर कार्कीले गृह मन्त्रालयमा जग्गा उपलब्ध गराइदिन माग गर्दै पत्राचार गरेका हुन् । आईजीपी कार्कीले असोज १२ गते मन्त्रालयलाई पत्राचार गरेका छन् ।

उक्त पत्रमा धरान-८ स्थित रेडियो नेपालको जग्गामध्येबाट दुई बिघा जग्गा माग गरिएको उल्लेख छ । रेडियो नेपाल हाल सञ्चालनमा रहेको छैन । उक्त जग्गाको संरक्षण पनि हुने भन्दै जग्गा माग गरिएको पत्रमा उल्लेख छ । रेडियो नेपाल सूचना प्रविधि एवम् सञ्चार मन्त्रालयअन्तर्गत रहेको छ । सोअनुसार अहिले गृह मन्त्रालयमार्फत् सूचना तथा सञ्चार मन्त्रालयसँग पहल भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका धरान नगर सभापति सुमन श्रेष्ठले जानकारी दिए ।

“जग्गाको विषयमा अहिले पहलहरू भइरहेका छन् । यसका लागि धरानस्थित नापी कार्यालयमा जग्गाका डकुमेन्टहरू खोजी भइरहेको छ” उनले भने, “जग्गाको फिल्डबुक, स्रेस्ता र नक्सा उतार्ने काम भइरहेको छ ।” उनले धरान-८ स्थित रेडियो नेपालको जग्गामा ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने विषयमा प्रक्रिया अगाडि बढिरहेको छ । यसका लागि सञ्चार मन्त्रालयसँग सहमति र सहकार्य गरेर २ बिघा जग्गाका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए । “प्रस्ताव चाहिँ दुई बिघा गरेको छ । अहिले प्रक्रियामै छ”-उनले भने ।

आईजीपी कार्कीको पत्रअनुसार धरानमा रेडियो नेपालको १६ बिघा १६ कठ्ठा २ धुर जग्गा रहेको छ । उक्त जग्गामध्ये २ बिघा जग्गाको प्रस्ताव राखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर अनिल माबोका अनुसार लामो समयदेखि भाडाको घरबाट कामकारबाही हुँदै आएको छ । भाडाको घरबाट कामकारबाही हुँदा धेरै कुरामा समस्या भइरहेको जनाइएको छ । “जग्गा प्राप्ति नहुँदा कारबाहीमा परेका बस तथा ट्रकहरूलाई राख्ने स्थानको अभाव छ । ड्रेसिङ गर्नुपर्‍यो” उनले भने “अर्को त भाडा तिर्नुपरिरहेको छ । ब्यारेकको समस्या छ । पानी चुहिने समस्या छ । प्रहरीका लागि व्यायाम गर्ने स्थान अभाव छ ।”

सुनसरीको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको ट्राफिक प्रहरीमा हाल ८२ जनाको दरबन्दी रहेको छ । जिल्लाको हकमा यो सङ्ख्या कम रहेको उनको भनाइ छ । “कम्तीमा पनि १ सय प्लस हुनुपर्ने हो । तर हाम्रोमा अहिले ट्राफिक प्रहरीको सङ्ख्या बढ्न सकेको छैन”-उनले फोनसम्पर्कमा भने । उनका अनुसार ट्राफिक प्रहरी कार्यालय मातहत १० वटा ट्राफिक बिट छन् । हाल भन्टाबारी, कोशी कटान, लौकही, हरिनगरा, पकली, चतरा, चक्रघट्टी, दुहबी, खनार र तरहरामा रहेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठका अनुसार ट्राफिक प्रहरी कार्यालयको जग्गा लामो समयदेखि प्राप्त गर्न नसकिरहेको बेला अहिले प्रक्रिया अगाडि बढेको छ ।

यस्तै इलाका प्रहरी कार्यालय धरानको पनि जग्गाका लागि पनि प्रयास भइरहेको उनले जानकारी दिए । इलाका प्रहरीको नाममा आफ्नो जग्गा नहुँदा बजेटहरू हाल्न नसकिने अवस्था रहेको छ । अहिले उपभोगको प्रमाण-पत्रका लागि मन्जुरी लिएर गृह मन्त्रालयमा पठाउने तयारी गरिएको र गृह मन्त्रालयले पनि स्वास्थ्य मन्त्रालयमा पहल गरिरहेको छ । सहमति गर्नका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यपरिषद् बैठक (कास) बसेर पठाउने कुरा भइरहेको उनले जानकारी दिए ।