उदयपुर/ मानव सभ्यतासँग प्रत्यक्ष जोडिए पनि पछिल्लो कालमा लोप हुँदै गएको तीन चुल्हो उदयपुरमा निर्माण गरिएको छ ।
निर्माण कम्पनीले संसारकै ठूलो भएको दाबी गरेको छ । तीन चुलोको अस्तित्व जोगाई राख्नका लागि त्रियुगा नगरपालिका–५ श्रीपुरका किरात समुदायका अगुवाहरूले मयुर वनमा चुल्हो स्थापना गरेका हुन् ।

विकासका कारण तीन चुल्होको अस्तित्व हराउँदै गएको छ । वन जङ्गलदेखि सार्वजनिक स्थलको संरक्षणसँगै तीन चुलोको पनि संरक्षण गर्न उतिकै जरुरी भएकाले स्थापना गरेको स्थानीयले बताएका छन् । विभिन्न जातजातिको मिथकसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएको चुलो पछिल्लो समयमा आएर अस्तित्व हराउँदै गएकाले संरक्षण गर्नको लागि स्थापना गरेको स्थानीयले बताएका छन् ।

किराँतीहरूको मिथकसँग प्रत्यक्ष जोडिएको र छुट्टै पहिचान बोकेको तीन चुलो मानव सभ्यताको एक नयाँ आयाम पनि हो । पर्यावरण पर्यटनका लागि जोड दिएका स्थानीयहरूले कृत्रिम पोखरी, किराँतीहरूले पूजा गर्ने भूमे थान, खुल्ला शिवको मूर्ती, नागको मूर्ती, शिवको तपस्या स्थल, शिव पार्वतीको थान, गणेश थान, साइकिलिङ् रुटसँगै तीन चुलोको पनि स्थापना गरेको स्थानीय दीपक वान्तावा राईले बताए ।

किराँतीहरूले तीन चुलोलाई छुट्टा छट्टै नामले चिन्ने गरेका छन् । यसलाई पितृ, सन्ता र नातागोता पनि भन्ने गरिन्छ । वैशाख पूर्णिमा र मङ्सिर पूिर्णमा अर्थात् उभौली र उधौलीमा साकेला नाचेर चुला पुज्ने चलन रही अएको छ । उक्त दिन भूमे पूजा गरी साकेला नाच्ने गरिन्छ । आफन्तजनको भेटघाट तथा शुभकामना आदानप्रदान गरेर मनाइने पर्वलाई लक्षित गर्दै भुमे थान नजिकै चुलोको स्थापना गरेको स्थानीय राईले बताए ।

चुलो स्थापना गरेपछि त्यस चुलोमा आगो बालेर केही पकाउनु पर्ने भन्ने जनविश्वास रहिआएको छ । त्यसै अनुरूप आगामी फागुन ९ गते पर्ने शिवरात्रीको दिन एक मन चामलको खिर पकाएर प्रसाद बाँढ्ने राईले बताए । त्यस दिन खुल्ला स्थानमा स्थापना गरेको शिव मूर्ती अगाडि होम लगाएर ‘आजबाट लागू औषध सेवन गर्न छोडेँ’ भन्दै जजसले जे खान्छन् त्यो होममा पोलेर प्रतिबद्धता जनाउने तयारी भएको उनले बताए । उक्त क्षेत्रमा आसपासमा समेत त्यति ठूलो र त्यस्तो खालको ढुङ्गा छैन । तर, ती तीन चुलोका लागि ढुङ्गा खोज्दा तीन वटा मात्रै फेला पारेको स्थानीय केशव थुलुङ राईले बताए ।

सुख्खा मरण क्षेत्रलाई हरियाली बनाइएर वन जङ्गलसँगै वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यका साथ पोखरी निर्माण भएको छ । उक्त क्षेत्रमा मयुर वनमा राजधनेश, मयुर, मैना, सुगा, पानी हाँस, बक्कुल्ला, रूपी, फिस्टालगायतका चराचुरुङ्गी र निल गाई, घोडगधा, बदेल, चित्तल, मृग, हरिण, जरायो लगायतका जनावारहरूसमेत पाइने गरेको उनले बताए । वन्य जन्तु र चराचुरुङ्गीहरूले आएर खाओस् भन्ने हेतुले भूमे थान र तीन चुलो आसपास अन्नहरू लगेर छरिदिने गरेको स्थानीय राईले बताए । वन्यजन्तुको संरक्षण गर्न सके जैविक विविधतामासमेत टेवा पुग्ने उनले बताए ।