आज माघ शुक्ल पूर्णिमा । आजभन्दा एक महिना अघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो । विशेष गरी हिन्दू महिलाहरूले एक महिनासम्म मनाउने श्री स्वस्थानी व्रत कथा आजबाट समाप्त हुँदैछ । नेपालमा धार्मिक सहिष्ण्ँुता भएकोले मान्न मिल्ने, श्रवण गर्न मिल्ने अन्य सम्प्रदायका व्यक्तिहरुले पनि यस ब्रत कथाप्रति सम्मान राखेको पाइन्छ । यस श्री स्वस्थानी व्रतकथामा विशेष गरी श्री स्वस्थानी देवीको पूजा र आराधना गरिन्छ । शिवजी तथा अन्य देवदेवीको पनि आराधना गरिन्छ ।

विशेष गरी काठमाण्डुको साँखुको शाली नदीमा व्रतालुहरूको आज भीड हुन्छ । यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्घालु भक्तजनहरूको भीड हुन्छ । हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन् । रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री बुद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्छन्् । रातो पहिरन आकर्षक हुनुका साथै यसलाई श्रीवृद्धिको प्रतीक पनि मानिन्छ ।

आफ्नी प्रिय पत्नी सतीदेवीको मृत्युपछि महादेव अन्यन्त शोकाकुल बन्छन् । आफ्नी पत्नीको मृत शरीर बोकी उनी एक तमासले हिँड्छन् । यही क्रममा सतीदेवीका अ¨हरू पतन हुन थाल्दछन् । यही क्रममा धरान स्थित विजयपुरमा सतीदेवीको दाँत पतन भएको जन विश्वास रहेको पाइन्छ । यसैले यसलाई दन्तकाली भनिएको हो ।

आफ्नी पत्नीको वियोगबारे महादेवका जुन प्रसङ्गहरू उल्लेख गरिएका छन्, त्यसले कथा वाचक र श्रोताहरूलाई अत्यन्त भावविह्वल बनाउने गर्दछ । वास्तविक रूपमा पनि आफ्नी पति वा पत्नीको स्वर्गवास पछि बाँच्ने व्यक्ति एकल हुन पुग्दछ । मृत्यु यस्तो चिज हो जसलाई छेकेर छेक्न सकिन्न, रोकेर रोक्न सकिन्न । यस संसारमा जन्मे पछि एकदिन मर्नु पर्ने नै हुन्छ । आफूलाई बुझ्ने, आफ्नो इच्छा चाहना परिपूर्ति गर्न हरदम प्रयास गर्न खोज्ने व्यक्तिको निधनले सबैलाई अत्यन्त दुःखी तुल्याउने गर्दछ । यस सत्यसँग परिचित व्यक्तिहरूले आफ्नो मर्म लुकाई बाँकी रहेको जीवनप्रति सकारात्मक भई जीवन व्यतीत गरिरहेको पाइन्छ, गर्नुपर्छ पनि । उहाँहरूप्रति यो पङ्क्तिकार हार्दिक नमन गर्न चाहन्छ ।

यस श्री स्वस्थानी व्रतकथामा महादेव, सतीदेवी, पार्वती तथा गोमा ब्राम्हणीको विशेष कथा पाइन्छ । संसार तथा मानव ,दानव तथा देवताको उत्पत्तिको कथा पाइन्छ । विभिन्न दानवहरूसँगको लडाइँका कथाहरू पनि यसमा समेटिएका छन्। शुरुमा राक्षसी प्रवृत्तिहरू अर्थात् असत्यहरूको जित भएर क्षणिक आनन्दमा रमाए तापनि अन्तमा सत्यकै जित हुने कुरा विभिन्न प्रसङ्गहरूबाट बुझ्न सकिन्छ । घमण्ड गर्नाले पतन अवश्य हुन्छ ।

मानव होस् वा दैव, जो सुकैले गरेको घमण्डले हानि पु¥याउने भएकोले पद, प्रतिष्ठा, शक्ति, रूप, धन, सम्पन्नता आदिको घमण्ड त्याग्नै पर्ने कुरा यस कथाबाट सिक्न सकिन्छ । मानिस भएर जन्म लिइसकेपछि सबैको सुखपूर्वक जीवन व्यतीत हुँदैन । धेरै जनाको दुःख र कष्टपूर्ण जीवन हुने गर्दछ । यसो भयो भन्दैमा आत्तिने कार्य गर्नु हँुदैन । संयमित भएर आफ्नो सुकार्य र मिहिनेत पूर्वक गर्दै जाँदा अन्त्यमा सुख अवश्य पाइन्छ भन्ने सन्देश पनि यसमा अन्तरनिहित छ ।

सबै व्यक्तिहरूको भावना एकै किसिमका हँुदैनन् । तसर्थ कतिपय व्यक्तिहरूले श्री स्वस्थानी व्रतकथाप्रति विमति पनि राख्ने गरेको पाइन्छ । धार्मिक रूपमा एक महिनासम्म मनाइने, स्वस्थानी देवीको कथा वाचन तथा श्रवण गरिने, विधि विधान अनुसार व्रत आरम्भ गर्ने तथा समापन गर्ने गरिन्छ । आज विधिवत् रूपमा व्रत बसी श्री स्वस्थानीको अन्तिम कथा वाचन तथा श्रवण गरिन्छ, पूजा गरिन्छ । अन्तमा प्रसाद बाँडिन्छ । भोलिपल्ट बिहानै विधि अनुसार नै फूलपातीहरू नदीमा बहाइन्छ । यसरी स्वस्थानी व्रतकथा नेपाली जनजीवनसँग नजिकबाट गाँसिएको महŒवपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको पाइन्छ ।