अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ बसपार्क नजिकै एक पैदल यात्रुको ज्यान जाने गरी कार दुर्घटना हुँदा आफू पनि कारमै सवार रहेको स्वीकार गरेकी छन् ।

गत मङ्सिर २८ गते मादक पदार्थ सेवन गरेका चार जना सवार कारले ठक्कर दिँदा गोरखाकी ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनाको समयमा चार जना कारमा थिए । कारमा सवार ३ जनाको नाम खुलाए पनि प्रहरीले परमिताको नाम गोप्य राखेको थियो । घटना भएको एक महिनापछि परमिताले आफू उक्त कारमा सवार रहेको स्वीकार गरेकी छन् ।

बा.१४ च ६१२३ नम्बरको कारमा आफू पनि सवार रहेको परमिताले सामाजिक सञ्जालमार्फत् बताएकी हुन् । उनले माफी माग्दै भनेकी छन्, ‘म सबैसँग माफी माग्न चाहन्छु, चार जनाले लिएको मूर्ख निर्णयले एकजना निर्दोषको ज्यान गयो ।’

‘मैले यो एक खराब सपना होस् भनेर कामना पनि गरेँ, तर त्यो कारभित्र एक यात्रु म पनि थिएँ’ परमिताले लेखेकी छन्, ‘मैले ढिलो गरी भनेकोमा पनि माफी चाहन्छु तर म त्यो दुर्घटनाले दुःखी थिएँ ।’

उनले उक्त दुर्भाग्यपूर्ण घटनाले आफू दुःखी भएको बताएकी छन् । परमिताले उक्त घटनापछि आफू धेरै चोटमा परेको र दुर्भाग्यपूर्ण घटनाले आफू मर्माहत भएको बताएकी छन् । उनले चार छोरीहरूले मायालु आमा गुमाएको र श्रीमान्ले सहयोगी श्रीमती गुमाएको घटनाले आफ्नो जीवनमा पूर्ण रूपमा परिवर्तन ल्याएको बताएकी छन् ।

‘केवल भगवानले जान्नुहुन्छ कि म हरेक बिहान मेरो हृदय र आत्मासँग कसरी उठ्छु र अझै शोकमा छु’ –उनले भनेकी छिन् । दुर्घटना भएपछि आफू घर पुगेपछि मात्र महिलाको मृत्यु भएको आफूले थाहा पाएको बताएकी छन् ।

उनले आफू दुई वर्षको हुँदा एक कार दुर्घटनामा बुबालाई गुमाउनु परेको र त्यसयता आफूले अरूलाई कहिल्यै चोट नपु¥याएको पनि बताएकी छन् । परमिताले दुर्घटनापछि आफूले पहिलोपटक आमालाई फोन गरेको तर उनले नउठेको बताएकी छन् । उक्त कारलाई २१ वर्षीय पृथ्वी मल्लले चलाएका थिए ।

अत्यधिक मदिरा सेवन गरी कार चलाइएकाले दुर्घटनामा परेको प्रहरीले बताएको थियो । कारमा नायिका परमिता राणा, करिश मास्के, एलिना थापा र पृथ्वी मल्ल सवार थिए । उनीहरू मङ्सिर २७ गते शुक्रबार साँझ शिवपुरी, डाँडागाउँ गएका थिए ।