विराटनगर । सात वर्षदेखि फार्मेसी नवीकरण नगरी सञ्चालन गरिरहेकोदेखि दर्ताविनाका औषधि बिक्रीका लागि राख्नेसम्मका कैफियत भेटिएपछि विराटनगरका तीनवटा फार्मेसीमा शिलबन्दी गरिएको छ ।

औषधि पसल सञ्चालनसम्बन्धी न्यूनतम् मापदण्डसमेत पालना नगरेको पाइएपछि मङ्गलबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा तीन फार्मेसीमा शिल लगाइएको हो ।

विराटनगरस्थित हस्पिटल चोकमा सञ्चालित ‘इमान फार्मेसी’, ‘खुश फार्मेसी’ र ‘सुरेश फार्मेसी’ मा अनुगमन टोलीले शिलबन्दी गरेको हो । औषधि व्यवस्था विभागका अनुसार यी फार्मेसीमा नवीकरण, स्थानसारी, औषधि भण्डारण तथा औषधिको दर्तासम्बन्धी प्रावधान पालना नभएको पाइएको थियो । औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक एलन खड्काका अनुसार ‘सुरेश फार्मेसी’ ले २०७५ सालदेखि आफ्नो फार्मेसी नवीकरण नै गरेको थिएन । लामो समयदेखि नवीकरणविनै औषधि पसल सञ्चालन गरिरहेको भेटिएपछि उक्त फार्मेसीमा तत्काल शिलबन्दी गरिएको उनले बताए । यो फार्मेसीमा हाम्रो प्याथोलोजी ल्याव एण्ड डायग्नोष्टिक सेन्टर पनि रहेको छ । यहाँ चिकित्सकहरू आएर बिरामी हेर्ने गरेका थिए । 

औषधि ऐनको संशोधित व्यवस्थाअनुसार फार्मेसीको म्याद सकिएपछि ३० दिनभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । उक्त अवधिभित्र नवीकरण नगरे फार्मेसी स्वतः विनादर्ताको मानिने भएकाले सुरेश फार्मेसीमाथि कानूनी कारबाही गरिएको निरीक्षक खड्काले बताए । “सुरेश फार्मेसीले २०७५ सालदेखि नवीकरण नगरेको पाइयो । म्याद सकिएको ३० दिनभित्र नवीकरण गरिसक्नुपर्ने प्रावधान छ । सो अवधिमा नवीकरण नगरे फार्मेसी स्वतः विनादर्ताको ठहरिन्छ” उनले भने, “त्यसैले कानूनबमोजिम शिलबन्दी गरेका हौँ ।”

त्यस्तै ‘खुश फार्मेसी’ मा अनुगमन गर्दा फार्मासिस्ट नै अनुपस्थित रहेको पाइएको थियो । फार्मेसी सञ्चालनका लागि आवश्यक औषधिका फर्मासिस्टको उपस्थिति नरहेको मात्र होइन, दर्ता नभएका औषधिसमेत बिक्रीका लागि राखिएको भेटिएको विभागले जनाएको छ । औषधि फर्मासिस्टको प्रत्यक्ष निगरानीविनै औषधि बिक्री वितरण गर्नुका साथै दर्ताविनाका औषधिसमेत राखेको पाइएपछि उक्त फार्मेसीमा पनि सिल लगाइएको हो ।

‘इमान फार्मेसी’ ले भने नवीकरणको म्याद गुजारेको र औषधि व्यवस्था विभागबाट स्वीकृति नलिई फार्मेसीको स्थान परिवर्तन गरी सञ्चालन गरेको पाइएको थियो । स्वीकृत स्थानमा मात्र फार्मेसी सञ्चालन गर्नुपर्ने प्रावधान उल्लङ्घन गरेको पाइएपछि उक्त पसलमा पनि शिलबन्दी गरिएको निरीक्षक खड्काले बताए ।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा भएको अनुगमनमा औषधि व्यवस्था विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र राजस्व अनुसन्धान कार्यालय विराटनगरका प्रतिनिधि सहभागी थिए । अनुगमनका क्रममा बिलविजक व्यवस्थित रूपमा नराखेका अन्य औषधि पसललाई राजस्व अनुसन्धान कार्यालयले जरिबानासमेत गरेको जनाइएको छ । अनुगमन टोलीले औषधि बिक्री गर्ने व्यवसायीले फार्मेसी नवीकरण, फार्मासिस्टको उपस्थिति, औषधिको दर्ता तथा भण्डारणलगायतका कानूनी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ ।