धनकुटा । रवि-राके-भेडेटार सडकखण्ड अन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका ६ धाराचोकमा अलकत्रा पोल्ने बिटुमिन  डिष्ट्रिब्युटर मेसिनमा आगलागी भएको छ ।

अलकत्र तताउने क्रममा बिटुमिन  डिष्ट्रिब्युटर मेसिनमा आगलागी भएर क्षति भएको हो । आज बिहान १०:४० बजे एप्को इन्फ्राटिच निर्माण कम्पनीको युपी ४२ बीटी ६९२५ नम्बरको बिटुमिन डिस्ट्रिब्युटर मेसिनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

सडकमा रोकेर अलकत्र तताउने क्रममा अचानक बिटुमिन  डिष्ट्रिब्युटर मेसिनमा आगलागी भएको क्षेत्रीले बताए । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजारानी, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी टोलीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट सवारी साधन पूर्ण रूपमा क्षति भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।