विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा १४ वर्षीया बालिकाको मृत्यु भएपछि उनका आफन्तले अस्पताल प्रशासनमा तोडफोड गरेका छन् ।

धरान–१५ की दिपिका तामाङलाई पेट दुख्ने र वान्ता हुने समस्या देखिएपछि परिवारले बुधबार उपचारका लागि प्रतिष्ठानमा ल्याएका थिए । प्रतिष्ठानका अनुसार उनलाई उपचारका लागि बाल सघन उपचार कक्ष (पीआईसीयू) मा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालिकाको मृत्यु भएपछि आक्रोशित आफन्तले प्रतिष्ठान प्रशासनमा तोडफोड समेत गरे ।

मृतक बालिकाका परिवारले उपचारमा संलग्न चिकित्सकहरूको टोलीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । साथै, उपचारमा लागेको सम्पूर्ण खर्च अस्पताल प्रशासनले बेहोर्नुपर्ने माग गरेका छन् ।

तोडफोडमा संलग्न मृतकका आफन्तलाई कुनै कारबाही नगर्न तथा मृतकका परिवारका सदस्यलाई प्रतिष्ठानले आजीवन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत परिवार पक्षले राखेको प्रतिष्ठान स्रोतले जनाएको छ । बालिकाको मृत्युको कारण र उपचारका क्रममा भएको घटनाबारे प्रतिष्ठान प्रशासनको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ ।