इटहरी इटहरीमा जाडोका कारण एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । जाडोको कारण सडकमा मागि खादै हिड्ने नाम थर नखुलेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । विहानै एक जना वेवारिशे मृत भेटिएको प्रहरीको भनाई छ ।
रातभर जाडोमा बसेको कारण मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । हामीले मृतकको पोष्ट पार्टमको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाएका छौ ।’– डिएसपी भण्डारीले भने । मृतकको आफन्तको विषयमा पनि खोजी गरिरहेको डिएसपी भण्डारीको भनाई छ ।
पुस लाग्नेबित्तिकै चिसो ह्वात्तै बढेको छ । वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको हो ।तराईसहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । तराईमा मंगलबार बिहानदेखि लागेको हुस्सु नहट्दा र देशका अरु ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।
पुस महिना लागेसँगै तराईमा अत्याधिक चिसो बढ्दा त्यहाँको जनजीवन प्रभावित भएको छ । चिसो हावा चल्ने र बाक्लो कुहिरो लाग्दा सर्वसाधरणको जनजीवन प्रभावित बनेको हो । इटहरीका हाडवेयर ब्यावसायी शंकर अग्रवालले चाडो ह्वात्तै बढेको बताए । जाडो एक्कासी बढ्दा ग्राहकको चहलपहल कम हुदै गएको उनको भनाई छ ।
इटहरीलगायत आसपासका क्षेत्रमा दैनिक तापक्रम घटिरहेको छ । इटहरीका लेखापढी ब्यवसायी विकास निरौलाले चिसो हत्याधिक बढेको कारण समस्या हुन थालेको बताए । निरौलाले भने सडकमा हिडिसक्नु छैन घर भित्रै हिटर चलाएर बस्नु पर्ने अवस्था अहिले नै आयो । जाडो अत्याधिक बढेको कारण सर्वसाधरणहरुको चहलपहल घटेको उनी बताउँछन ।
इटहरी स्थित एपेक्स अस्पतालका फिजिसिएन डाक्टर सतिस निरौलाले स्वास्थ्यमा हेरचाह गर्नु पर्ने सुझाब दिए । दम लगायतका रोगहरुलाई समस्या हुने बताए । अहिले भ्याक्सीन समेत उपलब्ध भएको भन्दै बालबालिकाहरुलाई विशेष ध्यान दिनु पर्ने उनको सुझाब छ । चिसोबाट बच्न मन तातो पानी खान सुझाब दिए ।
तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् । विहानै देखि हुस्सु लाग्दा सर्वसाधरण मजदुरहरुलाइ भने समस्या हुन थालेकोे छ ।
इटहरीमा बुधबार विहान १६ डिग्री सेल्सिएस रहेको छ । अझै तापक्रम घट्न सक्ने मौसमविदहरुले बताएका छन । आज पनि तराईका धेरै ठाउँमा दिनभर नै हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँमा दिउँसोपछि हुस्सु हटे पनि मौसम पूर्णरुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।