विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालले आगामी ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) सेवा सुरु गर्ने तयारी तीव्र पारेको छ । 

कोशी र मधेश प्रदेशसहित छिमेकी मुलुक भारतसम्मका बिरामीको चाप रहने यस अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक दक्ष जनशक्ति, पूर्वाधार व्यवस्थापन र कानुनी प्रक्रिया एकसाथ अगाडि बढाइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाका अनुसार तीनदेखि छ महिनाभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित अस्पतालले प्रत्यारोपणसम्बन्धी विभिन्न समिति गठन गरी काम अघि बढाएको छ । प्रत्यारोपण सेवा सञ्चालनका लागि अस्पताललाई ‘ट्रान्सप्लान्ट सेन्टर’ का रूपमा दर्ता गर्ने प्रक्रियासमेत सुरु भइसकेको छ ।

“संस्था दर्ता गरेर जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण सुरु गर्ने हाम्रो योजना छ” मेसु डा. झाले भने, “अस्पताल विकास समितिको बैठकबाट प्रस्ताव पारित गरी आवश्यक दस्तुरसहित स्वास्थ्य सेवा विभागमा पठाउने प्रक्रिया अगाडि बढेको छ । विभागबाट अनुगमन टोली आएर स्वीकृति दिएपछि सेवा सञ्चालनको बाटो खुल्नेछ ।”

तालिममा नर्सिङ जनशक्ति, चिकित्सक टिम तयार

प्रत्यारोपण शल्यक्रियाका लागि सामान्य सर्जन मात्रै पर्याप्त नहुने भएकाले मान्यताप्राप्त केन्द्रमा काम गरेको विशेष लाइसेन्स आवश्यक पर्छ । 

कोशी अस्पतालमा युरो सर्जन र डीएम नेफ्रोलोजिस्टसहितको दक्ष टिम उपलब्ध रहेको डा. झाले जानकारी दिए । उनका अनुसार टिममा रहेका डा. पुरुषोत्तम पराजुलीसँग मिर्गौला प्रत्यारोपणको लाइसेन्स छ भने डीएम नेफ्रोलोजिस्ट डा. गौरव क्षेत्री लाइसेन्स लिने प्रक्रियामा छन् । टिममा डा. सुनिल रेग्मीसमेत आबद्ध छन् ।

चिकित्सक उपलब्ध भए पनि अप्रेसन थिएटर (ओटी) मा खटिने नर्सिङ जनशक्ति तालिमप्राप्त नभएकाले अस्पतालले आन्तरिक सूचना जारी गरी इच्छुक स्टाफ नर्सलाई तालिममा पठाउन थालेको छ । सेवा सञ्चालनका लागि कम्तीमा चारदेखि पाँच जना तालिमप्राप्त नर्सिङ जनशक्ति आवश्यक पर्नेमा केही नर्सलाई भक्तपुरस्थित सहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रमा पठाइसकिएको र अन्यलाई पठाउने क्रम जारी रहेको मेसु झाले बताए ।

खाली हुने आँखा ओटीमा सेवा विस्तार

अस्पतालमा भौतिक स्थानको अभाव रहँदै आए पनि हाल आँखा अस्पताल अर्को स्थानमा सरेपछि खाली हुने आँखा विभागको अप्रेसन थिएटर (ओटी) मै मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना बनाइएको छ । सेवा सुरु गर्ने विषयमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्री स्वयंले विशेष सक्रियता देखाएको मेसु झाको भनाइ छ ।

“मन्त्रीज्यू आफैले दुई-तीन पटक फोन गरेर छिटो सुरु गर्न भन्नुभएको छ” उनले भने, “धर्मभक्त प्रत्यारोपण केन्द्रका निर्देशकले पनि आफै सम्पर्क गरी नाम पठाएकै दिन तालिमको व्यवस्था मिलाइदिनुभएको छ ।” तयारीलाई तीव्रता दिन ह्वाट्सएप ग्रुपमार्फत् र भौतिक रूपमै नियमित बैठक तथा गृहकार्य भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

डायलाइसिसमा दोब्बर चाप

कोशी अस्पतालमा हाल मिर्गौलाका बिरामीको चाप अत्यधिक छ । बाहिरका निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बिमामार्फत् हुने सेवा बन्द भएपछि अस्पतालमा डायलाइसिस गराउने बिरामीको घुइँचो झन् बढेको मेसु झाले बताए । हाल क्षमता अभावका कारण कोशीमा दैनिक सरदर २० देखि २२ जनाको मात्र डायलाइसिस भइरहेको छ । पर्याप्त बेड र मेसिनको व्यवस्था हुने हो भने दैनिक ४० देखि ५० जनासम्म बिरामी डायलाइसिसको लाइनमा रहेको अस्पतालको तथ्याङ्क छ ।

नियमित डायलाइसिस गराइरहेका धेरैजसो बिरामीलाई कुनै न कुनै चरणमा प्रत्यारोपण आवश्यक पर्ने भएकाले कोशीमै सेवा सुरु भएपछि बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । “अहिले काठमाडौँस्थित प्रत्यारोपण केन्द्रमा बिरामीको लामो लाइन छ” डा. झाले भने, “कोशीमा सेवा सुरु भए केन्द्रको चाप पनि घट्छ र यस क्षेत्रका जनताले घरआँगनमै गुणस्तरीय सेवा पाउँछन् ।”

फिस्टुला र सीटीभीएस सर्जनको अभाव

अस्पतालमा डायलाइसिसका बिरामीलाई आवश्यक पर्ने ‘फिस्टुला’ बनाउने सेवा नहुँदा निजी अस्पतालमा महँगो शुल्क तिर्नुपरेको बिरामीको गुनासोप्रति मेसु झाले अस्पतालमै डा. पुरुषोत्तम पराजुलीले धेरै बिरामीको फिस्टुला बनाउँदै आएको स्पष्ट पारे । तर, कतिपय जटिल प्रकृतिको फिस्टुलाका लागि कार्डियोथोरासिक भास्कुलर सर्जन (सीटीभीएस) आवश्यक पर्ने र हाल अस्पतालमा उक्त पद रिक्त रहेको उनले बताए ।

“अस्पतालमा सीटीभीएस सर्जनको दरबन्दी छ, पहिला करारमा एक जना हुनुहुन्थ्यो तर उहाँले छोडेर जानुभयो” डा. झाले भने, “हामीले पटक-पटक माग गरेका छौँ तर गङ्गालाल अस्पतालमै समेत यस्तो जनशक्तिको कमी छ । अचेल चिकित्सकले यो विषय पढ्नै छोडेर सिटसमेत खाली जान थालेको अवस्था छ ।” सीटीभीएस सर्जन उपलब्ध हुनसके जटिल प्रकारका फिस्टुलासमेत अस्पतालमा सहजै बन्ने उनको भनाइ छ ।