धरान । गायक डिल्ली फोम्बो, प्रशान्त शर्मा र दिनेश ढुङ्गेलले ‘शिक्षाका लागि सङ्गीत’ अभियान सञ्चालन गरिरहेका छन् ।
यसपटकको अभियान अन्तर्गत सङ्कलन भएको रकमबाट उनीहरूले धनकुटाको धारापानीस्थित महाभारत प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री, झोला, जुत्ता र स्वेटर सहयोग गर्ने योजना छ । ‘भेडेटारभन्दा अलि तल रहेको यो विद्यालयमा हामी पुग्दा विद्यार्थी खाली खुट्टा थिए, झोला थिएन’ गायक फोम्बो भन्छन्, ‘विद्यार्थीको अवस्था देखेपछि सहयोग गर्ने सल्लाह भयो । अभिभावकहरूले स्वेटर पनि माग गरे । ती सामग्री जुटाउन अभियान चलाएका हौं ।’

अभियानअन्तर्गत उनीहरूले कात्तिक १ गते भानुचोकमा बृहत् साङ्गीतिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा गायक युगेश लिम्बू पनि सहभागी हुन अमेरिकाबाट आउने गायक फोम्बोले बताए ।
तीन वर्षदेखि सञ्चालन भइरहेको शिक्षाका लागि सङ्गीत अभियानमा शुरुमा प्रशान्त र दिनेश थिए ।

डिल्ली यसपटकबाट थपिएका हुन् । उनीहरूले महाभारत स्कुलका विद्यार्थीलाई अर्को वर्षपछि सहयोग जुटाउने सोच बनाएका छन् । डिल्ली भन्छन्, ‘हामी आफूले जानेको सङ्गीत कर्मबाट सङ्कलन गरेको रकम सहयोग गर्छौं । अरूलाई पनि सकेको सहयोग गर्न आग्रह गरेका छौं ।’