धरान / भोजपुरमा भएको भिडन्त र मृत्युको विषयलाई लिएर संसदको राज्य व्यवस्था तथा सुशासन समितिले घट्नाबारे जवाफ दिन माग गरेको छ ।
नेपाली काङ्ग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरेकी छन् ।
समितिमा गृहमन्त्री थापा, गृहसचिव प्रेम राई, प्रहरी महानिरीक्षक खनाललगायत सुरक्षा अधिकारी सहितको टोली प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको थियो । सोही समयमा संग्रौलाले विषय उठान गरेकी हुन ।
आज बिहान भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान भएको थियो ।
गोली प्रहारबाट प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको छ । प्रहरीको जवाफी फाइरिङमा विप्लव समूहका कार्यकर्ता नीरकुमार राईको पनि मृत्यु भएको प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिएका छन् ।