धनकुटा  / धनकुटाको हिले बजारमा ५ महिना अघि हत्या गरिएका एक युवकको हत्यामा संलग्न २ जनालाई जिल्ला अदालत धनकुटाले जन्मकैदको फैसला सुनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत धनकुटाका न्यायधिश विनोदकुमार पोखरेलको एकल इजालासले मंगलवार यस्तो फैसला सुनाएको हो ।
हिले बजार नजिकै दशैं तिहारको अवसरमा संचालन गरिएको रमाइलो मेला स्थलमा गएको कार्तिक १६ गते राती २ वजेको समयमा हत्या गर्ने योजनाकार निज चौधरीका श्रीमती प्रिया चौधरी र हत्यारा सविन राईलाई जिल्ला अदालत धनकुटाले जन्मकैदको फैसला सुनाएको हो ।

हत्याको कारण प्रेम सम्बन्ध
हत्या गरिएका युवक सुनसरीको इटहरी उप–महानगरपालिका–१५ घर भएका ३८ वर्षीय रामबावु चौधरीको हत्याको योजना वनाउने योजनाकार आफ्नै श्रीमती वर्ष २९ की प्रिया चौधरी र धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.९ घर भै हाल सुनसरी जिल्लाको वराहक्षेत्र न.पा.वडा नं.५ कालावन्जार घर भएका वर्ष ३१ का सविन राईसंगको प्रेम सम्वन्धको कारण चौधरीको हत्या भएको थियो । प्रहरीले उनीहरुलाई गएको माघ १७ गते पत्रकार सम्मेलन गरेर हत्याको योजनाकार र अभियुक्तको रुपमा सार्वजानिक गरेको थियो ।  पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत धनक्टाले २ लाख रुपयाँ जरिवाना र जन्मकैदको फैसला सुनाएको हो ।