फत्तेपुर / प्रहरी ऐन लागु भएसँगै स्थापना भएको सप्तरीको सप्तकोशी नगरपालिका १, फत्तेपुर स्थित ‘प्रहरी चौकी सरकारी वेवास्ताका कारण उपस्वास्थ्य चौकीमा भर्ना भएको भन्दै स्थानीयले ब्यंग्य गरेका छन् । प्रहरीको नेतृत्व र सरकारी वेवास्ताका कारण कार्यालय राख्ने स्थान अभाव हुँदा प्रहरी चौकी स्वास्थ्य संस्थाको भवनमा राख्नु परेको विषयमा उनीहरुले ब्यंग्य गरेका हुन् ।
‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत इलाका प्रहरी कार्यालय कञ्चनपुरले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल तथा एसपी राजेन्द्र विष्टलाई लक्षित गर्दै स्थानीयहरुले प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गर्न आग्रह गरे । ‘सुरक्षा संवेदनशिलताका कारण २०१२ सालमै स्थापना भएको प्रहरी चौकी अहिलेसम्म पनि स्तरोन्नती भएन ।’–स्थानीय रमण कर्णले भने–‘हुँदा–हुँदा अव त सुरक्षा गर्नुपर्ने प्रहरी स्वास्थ्य चौकीमा भर्ना भएका छन् । विशेक हुन्छ की रेफर गर्नुपर्छ ?’
भरखरै स्थापना भएका प्रहरी चौकी इलाका प्रहरी कार्यालयमा स्तरोन्नती भईसक्दा पनि फत्तेपुर प्रहरी चौकी इलाका वन्न नसकेको, भएका प्रहरीलाई पनि साधन, श्रोत र सञ्चार विहिन वनाएको लगायतका विषयमा स्थानीयहरुले गुनासो गरे । २५ हजारभन्दा वढि जनसंख्या भएको सप्तकोशी नगरपालिकाको सुरक्षाका लागि १०÷१२ जना प्रहरी अपर्याप्त भएको र भौगोलिक हिसावले पनि थोरै प्रहरीले सुरक्षा दिन नसकेको उनीहरुले वताए ।
‘चौकीमा न सवारी साधन छ, नत संचार सेट गोविन्द खत्रीले भने–‘नगरपालिकाको एक छेउमा भएको प्रहरी ८÷१० किलोमिटर हिडेर अर्को छेउमा पुग्नु पर्छ । त्यो पनि डराउँदै–डराउँदै जानुपर्ने अवस्था छ । प्रहरीलाई यसरी अपाङ्ग वनाएर राखेपछि कसरी हुन्छ जनताको सुरक्षा ?’
लामो समयसम्म सिंचाईको भवनमा रहेको प्रहरी चौकी पछिल्लो समय स्वास्थ्य चौकीको वर्थिङ्ग सेण्टरमा सरेको छ । स्वास्थ्य चौकीले पटक–पटक भवन खाली गर्न आग्रह गर्दा पनि प्रहरीको आफनो भवन अधुरो भएकाले सर्न नसकिएको सई अमिर यादवले वताए ।
सिडिओ पौडेल र एसपी विष्टले भने सुरक्षा समितिको वैठकको निर्णय अनुसार चौकीलाई इलाकामा स्तरोन्नती गर्न यसअघि नै सिफारिस गरिसकिएको जानकारी दिदै अधुरो भवन पुर्ण गरी प्रहरीलाई आफनो भवनमा सर्ने वातावरण तयार गरिदिन नगरपालिकाका मेयर उत्तमकुमार गौतमसँग आग्रह गरे ।
प्रहरी चौकी भवन निर्माण समितिका संयोजक अशोककुमार चौधरीले रकम अभावमा भवनको फिनिसिङ्गको काम रोकिएको वताए । ‘५÷६ लाख रुपैयाँको ब्यवस्था गर्न सके वाँकी काम सकिन्छ’ उनले भने–‘धरै काम त चन्दा उठाएरै गरियो, वाँकी चाहि कतैवाट ब्यवस्था गर्न सके प्रहरीलाई आफनै भवनमा सार्न सकिन्छ ।’
कार्यक्रममा कोशी टप्पु वन्य जन्तु आरक्षवाट निस्ने हात्ती, वँदेल, अर्ना, भालुलगायतका जंगली जनावरको आतंक, लागु औषधको दुब्र्यसनी, खानेपानी र विद्युतको समस्यालगायतका विषयमा सर्वसाधारणले गुनासो गरेका थिए । सर्वसाधारणको जिज्ञासा र गुनासोका विषयमा सिडिओ पौडेल, एसपी विष्ट, शसस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालयका एसपी खेमवहादुर थापा मगर, डिभिजन वन अधिकृत धिरेन्द्रप्रसाद सिंहलगायतले जवाफ दिए ।