धरान । भेडेटार फुड फेष्टिवलको तीन दिन भेडेटारको आकाशमा सिम्रिक एयरको हेली उड्ने भएको छ ।

सातौं फेष्टिवलको आर्कषणको रूपमा आयोजक होटल एसोसिएसन भेडेटारले ‘भेडेटार हेली टुर’ प्याकेज ल्याएको हो । एक जना बराबर चार हजार ९ सयको यो प्याकेजमा झण्डै २६ किलोमिटरको पेरिफेरिमा आकाशमा रमाउन सक्ने भएका हुन् । एक पटकमा ६ जना उड्न सक्ने प्याकेज दैनिक १० भन्दा बढी उडान गर्ने तयारीमा आयोजक छ ।

‘सिम्रिक एयरसँग त्यही किसिमको सहमति भइसकेको छ ।’ आयोजक होटल एसोसिएसन भेडेटारका निर्वतमान अध्यक्ष लीलाराज लावती भन्छन्,–‘प्याकेजको अग्रिम बुकिङसमेत भइसकेको छ ।’ वर्षेनी पूर्वको पर्यटकीय क्षेत्र भेडेटारले फुड फेष्टिवल लगाउदै आइरहेको छ । यस वर्षको विशेष आर्कषणको रूपमा थपिएको हेली टुरले भेडेटार आसपासका पर्यटकीय क्षेत्रलाई आकाशबाटै नियाल्न सकिने भएको अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।

flysimrik

पौष १६ गतेदेखि तीन दिवसीय फुड फेष्टिवल लाग्दै छ । त्यही मौकामा हेली टुरको प्याकेज ल्याएको हो । भेडेटार आसपासमा झण्डै एकदर्जनभन्दा बढी पर्यटकीय स्थलहरू रहेका छन् । धार्मिक पर्यटकीय क्षेत्रमा पाथीभरा पहिलो गन्तव्यको रूपमा आउँछ भने मौलिक पर्यटकीय क्षेत्रको रूपमा साँगुरी भज्याङ, आत्माघर छन् । नमस्ते झरना, ओख्रे टावर, ध्वजे डाँडा, नाम्जे, झण्डी डाँडा, अजङ्गकाे वरको रुखलगायतले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण थप्ने सक्छ ।

यी क्षेत्रहरूलाई आकाशबाट पनि नियाल्ने गरी यसपटक प्याकेज ल्याएको अध्यक्ष रुम्दालीले बताए । फेष्टिवलमा ३० स्टल राखिदै छन् । जातीय परिकारसँगै अर्गानिक परिकार, हस्तकला, चियाका विभिन्न प्रजातिहरू स्टलमा राखिदै छ । भेडेटार समुन्द्री सतहबाट झण्डै १ हजार ४ सयभन्दा माथि रहेको छ । भुइँकुहिरोले स्वागत गर्ने कारण यहाँ गर्मी छल्नका लागि भारतीय पर्यटकहरू आउने गरेका छन् । ‘भेडेटार हेली टुर’ प्याकेज भारतीय पर्यटकको लागि आर्कषणको केन्द्र बन्न सक्ने विश्वासमा आयोजक छ ।

कतिपय भारतीयहरूलाई भेडेटारबारे मात्रै ज्ञान छ । त्यस आसपासका अन्य पर्यटकीय क्षेत्रको बारेमा उनीहरूले जानकारी लिन सक्ने सम्भावना पनि यसले बढाइ दिएको छ ।