इटहरी /सुनसरीमा एकपछि अर्को मुस्लिम अगुवाको हत्या भएपछि सांसद् तथा मुस्लिम अगुवाहरूले आपत्ति जनाएका छन् ।
दुई महिनाअघि हत्या गरिएका सुनसरी भुटाहाका मौलाना खुर्सिद आलम अन्सारीको हत्यारा पत्ता नलागिरहेका बेला अर्को हत्या भएपछि मुस्लिम समुदायका अगुवाले सुरक्षा व्यवस्थाप्रति आक्रोस पोखेका छन् । सुनसरीको दुहबीमा मुस्लिम अगुवा फिदा हुसेनको पनि अज्ञात समूहको गोलीबाट हत्या भएपछि सांसद् तथा मुस्लिम अगुवाले सुरक्षा व्यवस्था फितलो भएको भन्दै आपत्ति प्रकट गरेका हुन् । मुस्लिम समुदायका व्यक्तिहरूको एक पछि अर्को हत्या भइरहेका बेला सरकारले १० लाख क्षतिपूर्ति दिएर टार्न खोजेको नेपाली काङ्ग्रेसका सुनसरी सभापति तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले बताए । यसले गलत सन्देश दिइरहेको भन्दै सांसद् कोईराला सुरक्षा व्यवस्था कडा पार्नका लागि आग्रह गरे । उनले प्रशासनले हत्या हुनुको प्रारम्भिक विवरणसमेत दिन नसकेकोप्रति आक्रोस पोखे ।
मौलाना खुर्सिद आलम र फिदा हुसेन हत्यामा सरकारको कमजोरी रहेको मुस्लिम अगुवा मोहमद मोत्तार आलम बताउँछन् । हतियारसहित नेपाल प्रवेश गरी गोली हानेर भाग्दा पनि प्रशासनले गतिलो सुरक्षा व्यवस्था गर्न नसक्नुमा आशङ्का रहेको उनले बताए । सुनसरीका प्रदेश सांसद् लिलम बस्नेतले सुनसरीको शान्तिसुरक्षा फितलो भएको गुनासो गरे । खुर्सिद हत्यादेखि फिदा हत्यासम्म सुनसरी प्रहरी चुकेको उनको भनाइ छ । ‘सुनसरीको शान्तिसुरक्षा फितलो भयो पैसा आउँने ठाउँमा मात्र प्रहरी पुग्ने ? खै अपराधी पक्राउ गरेको ।’–उनको प्रश्न थियो ।
सुनसरीमा भएका पछिल्ला ठूला हत्यामा प्रशासनले तथ्य सार्वजनिक गर्न सकेको छैन । छानविन समिति र गृहप्रशासन देशी तथा विदेशी भन्दै उम्कने प्रयत्न गरेका छन् । तथ्य कुरा सार्वजनिक गर्न नसक्नु सरकार र गृहप्रशासन निकम्मा भएको सुनसरी क्षेत्रनम्बर २ का प्रतिनिधिसभा सदस्य सिताराम मेहता बताउँछन् । ‘सरकारको निरिह कार्यशैलीका विरुद्ध प्रदेश तथा सङ्घीय संसद्मा आवाज उठाउँछौ,’–उनी भन्छन् ।
मुस्लिम अगुवा गफार अन्सारीले पनि प्रहरीले शान्तिसुरक्षा अमनचयनको विषयमा सुनसरी प्रशासन चुकेको बताए ।