सुनसरी/ दुई महिनाअघि असोज ४ गते सुनसरीको हरिनगरा–२ भुटाहामा भएको खुर्सिद आलमको हत्याकै शैलीमा दुहबीमा फिदा हुसेनको हत्या भएको छ ।

बुधबार बिहानै मर्निङवाक गर्दै गरेका हुसेनलाई अज्ञात समूहले गोली हानी गम्भीर घाइते बनाएको थियो । एकपछि अर्को मुस्लिम समुदायको हत्या भएपछि मुस्लिम अगुवाहरूमा तरङ्ग पैदा भएको छ ।

सुनसरीको दुहबी नगरपालिका–९ स्थित छाताबेलीमा हुसेन उपचारमा लाने क्रममा मृत्यु भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले जयबाबा इँटा उद्योगको अगाडि उद्योगका व्यवस्थापक हुसेनमाथि गोली चलाएका थिए ।

गोली हानेको क्षेत्रमा तीन खोका गोलीसमेत फेला परेको छ । प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको भन्दै व्यापारीहरूले स्वतःस्फूर्त बजार बन्द गरेका थिए । स्थानीयले पनि आक्रोसमा बजार बन्द गराउँदै हिँडेका थिए । त्यसक्रममा केही मेडिकल हलले बजार बन्द नगरेको भन्दै तोडफोडेको प्रयास गरेका थिए ।

हुसेनका दाजु तथा दुहबी नगरपालिका–९ का वडाध्यक्ष तथा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मेहेदी हुसेनले तत्काल हत्यारा पत्ता नलगाए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । ‘हत्याको प्रकृति गम्भीर भएकोले गृहमन्त्री घटनास्थल आई दोषी पक्राउ गर्नुपर्छ’ –उनले भने ।

मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई दश लाख क्षतिपूर्ति दिनुपर्ने, मुस्लिम समुदायको सुरक्षा प्रत्याभूति गराउनुपर्ने, गृहमन्त्री आउनु पर्ने मृतकका आफन्त तथा स्थानीयले माग गरेका हुन् ।

बुधबार दिउँसो मृतकका आफन्त र सुनसरी प्रशासनबीच भएको दुई पक्षीय वार्ता पनि असफल भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र प्रहरी प्रमुख एसपी राजन अधिकारीसँग स्थानीयले गरेको वार्ता असफल भएको वार्ता टोलीका सदस्य ओम थापाले बताए ।

उनले भने, ‘हामीले २४ घण्टाभित्र हत्यारा पत्ता लगाउनुपर्ने, गृहमन्त्री घटनास्थलमा आउनुपर्ने माग राखेको तर सुनसरी प्रशासनले माग पूरा गर्न सक्दैनौं भनेपछि हामी शव सडकमा राखेर आन्दोलन गर्न बाध्य भयौं ।’

गोली प्रहारपछि दुहबी बजार स्थानीयले बन्द गरेका छन् भने यातायातसमेत पूर्ण रूपमा ठप्प बनाइएको छ । विराटनगर जाने सवारी इटहरीबाटै ट्राफिकले विराटचौट हुँदै पठाएको छ । यता हत्याको विरोधमा स्थानीयले दुहबी बजारमा नाराबाजी शुरु गरेका छन् ।

छाताबेलीबाट दुहबी आएका मृतकका आफन्त तथा स्थानीयले बजार, पसल बन्द गराउनुका साथै सवारी अवागमनमा दिनभर अवरोध गरे ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले गोली कसले चलायो भन्ने अहिलेसम्म पत्ता नलागेको बताए । गोली प्रहार गर्नेको खोजी कार्य भइरहेको भन्दै अनुसन्धानको लागि आधा दर्जनलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको उनले बताए ।

घटनाको बारेमा प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको उनले बताए ।

स्थानीयको मागप्रति आफूहरू सकारात्मक रहेको भन्दै बन्द खुलाउने पहल भने जारी रहेको उनको भनाइ थियो ।  सुनसरीका प्रमुख जिल्ला अधिकारी उप्रेतीले हत्याराको खोजीमा आफूहरू लागिपरेको बताए ।

घटना के का लागि भयो भन्नेसम्मको अनुसन्धान भइरहेको उनको भनाइ छ । हुसेनको हत्यासँगै प्रहरी हत्याराको खोजीमा सक्रिय भएको छ । घटनास्थलमा पुगेका सांसद् निलम बस्नेत, सीताराम मेहेता, राजीव कोइराला, रामकुमार सुब्बालगायतका नेताहरूले पनि हत्यारालाई चाँडो पक्राउ गर्न दबाव दिएका छन् ।

हत्यारा पत्ता लगाउनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली अनुसन्धानका लागि बुधबार साँझ दुहबी आइपुगेको छ । डिएसपी हीरा पाण्डेको नेतृŒवमा २ सदस्यीय टोली आइपुगेको हो ।