इमाडोल गाबिसका स्थायी बासिन्दा हास्यकलाकार किरण केसी अहिले पनि होली भनेपछि औधि रौसिन्छन् । फागुलाई रंगीन पर्व मान्ने उनी दिनभर जसो रंग खेलेरै बिताउँछन् ।

तन्नेरी हुँदाको त के कुरा । लुकेर केटीहरुलाई पानी छ्याप्नेदेखि अनुहारमा अबिर दलेर भाग्ने काम उनले पटक–पटक गरे ।

केसी भन्छन् ‘त्यसरी होली खेल्दा सार्‍है रमाईलो लाग्थ्यो ।’

त्यही रमाइलो गर्ने क्रममा उनले एउटी युवतीको दर्‍हो झापड भेटे । उक्त घटना केसीले अझै बिर्सेका छैनन् ।

‘त्यस्तो कुरो मैले कहाँ सजिलै बिर्सन्छु, अहिले पनि घटना सम्झँदा गाला रनन भए जस्तो हुन्छ,’ उनले भने ।

कुरो २७ वर्ष अगाडीको हो । तत्कालिन इमाडोल गाबिस वडा नं. २२ मा एउटी केटी निकै राम्री थिइन् ।

कहिले होली आउला र उनलाई रंग दलुँला भनेर बसेका थिए, केसी । होली आयो । मौका पारेर केटीलाई समातेर अनुहारभरी रंग दलिदिए । उनले सोचेका थिए, केटीले मेरो गाला पनि उसैगरी दलिदेली । तर, केटीले उनको गालामा रंग दलिनन्, कसेर चड्कन हानिन् ।

केसी भन्छन्, ‘त्यो चडकन खाएपछि मैले थाह पाएँ कसैलाई पनि जबर्जस्ती रंग दल्न हुँदो रहेनछ ।’

त्यसपछि आजसम्म कसैलाई इच्छाविपरित रंग दलेका छैनन् उनले । र, आग्रह गर्दै भन्छन्, ‘यो खुसीको पर्व हो इच्छाविपरित कसैलाई पनि केही नगरौं ।’