म त्यति बेला दाङमा थिएँ । एथ्लेटिक्समा ध्यान दिने भएकाले बारम्बार काठमाडौं आइरहेको हुन्थेँ । अन्य सहरमा पनि पुग्थेँ । बलिउड फिल्मको त्यति बेला निकै रजगज थियो । फिल्म हेर्न मलाई पनि औधी मन हुन्थ्यो । त्यसैले धेरैजसो हिन्दी फिल्म म नछुटाई हेर्थेँ । फिल्म हेर्दाको त्यो समयमा श्रीदेवी मेरो मनमा अचम्मले गडेर बस्नुभयो । उहाँको अभिनय र सौन्दर्यले मलाई लोभ्यायो ।

काठमाडौंबाटै हुनुपर्छ वा अन्यत्र कतै गएर दाङ फर्किएको हुनुपर्छ, मैले सुनेँ– श्रीदेवी, अमिताभ बच्चनलगायत भारतीय कलाकारहरु नेपालमा आउँदै छन् । अमिताभ बच्चन, श्रीदेवी नेपाल आउने कुराले दाङमा भए पनि मलाई उत्साहित गरिहाल्यो । भेटूँभेटूँ जस्तो भयो, दाङमा शरीर भए पनि मन काठमाडौंमा आइसक्यो ।

मलाई ठ्याक्कै सम्झना छैन तर लाग्छ– त्यति बेला म कुनै खेलमा सहभागि भएर विदेशबाट फर्किएको थिएँ । दाङ पुगेकै साँझ हुनुपर्छ श्रीदेवीलगायत कलाकार नेपालमा आउँदै छन् भन्ने मैले सुनेँ । त्यसैले मैले तत्काल काठमाडौं आउने निर्णय गरेँ । काठमाडौंमा मेरो ठूलाबाका छोरा दाइ हुनुहुन्थ्यो । उहाँलाई श्रीदेवीलाई भेट्न म काठमाडौं आउँदै छु है भनेर खबर पठाएँ ।

जुन दिन म काठमाडौं आइपुगेँ, त्यो दिन नै अमिताभ बच्चन फर्किएर गइसक्नु भएको रहेछ । खुदा गवाह फिल्मको गीतको सुटिङका लागि श्रीदेवी चाहिँ यहाँ नै हुनुहुन्थ्यो । उहाँको सुटिङ भक्तपुरमा चलिरहेको थियो । मेरो सौभाग्य– त्यति बेला भक्तपुरमा मेरो दाइ गोविन्द वली डिएसपी हुनुहुन्थ्यो । उहाँलाई मैले भनेँ– मलाई श्रीदेवीलाई भेटाइदिनु न । उहाँले भन्नुभयो– हुन्छ आउनू, म कोसिस गर्छु ।

म भक्तपुरमा पुगेँ । उहाँको डान्सिङ चलिरहेको थियो । केही समयमा उहाँको रेष्ट गर्ने समय भयो । त्यही रेष्ट गरेको समयमा मैले उहाँसँग भेटेँ । भेट्दा मैले भनेँ– मलाई सबैभन्दा मन पर्ने हिरोइन नै तपाईं हो, तपाईंलाई भेट्न म दाङ भन्ने ठाउँ ५–६ सय किलोमिटर टाढादेखि आएकी हुँ ।

उहाँ मेरो कुरा सुनेर अचम्ममा पर्नु भयो । ‘एक्साइटेड’ भएको जस्तो महसुस भएको थियो मलाई । त्यो भेट लामो समयको भेट थिएन । छोटो थियो तर मनमा गाढा भएर बसेको थियो । त्यो गाढापन आज अचानक खल्लो स्मृति बनेर आयो । बिहान मोबाइल झिकेर जब केही समय सामाजिक सन्जालमा टहल्ने विचार गरेकी थिएँ, सुरुमै श्रीदेवीको निधन भएको समाचारमा आँखा गए, मन अमिलो भयो । हिम्मत हार्नु हुन्न भन्ने सन्देश दिएकी श्रीदेवीलाई मृत्युले टिपेर लग्यो । तर, उनको याद र सम्झना मेरो मनमा सधैं रहिरहनेछन् ।