मुम्बई/एजेन्सी– बलिउड अभिनेत्री श्रीदेवी कपुरको मृत्यु पानीमा डुवेर भएको प्रमाणित भएको छ । उनको मृत्यु हृदयघातका कारण भएको समाचार उनका परिवारले सम्प्रेषण गरेका थिए ।

दुबईको खालिज टाइम्स दैनिकका अनुसार श्रीदेवीको मृत्यु रक्सीको नशामा बाथरुमको बाथटपमा भरिएको पानीमा डुवेर भएको हो । उनी बाथटपमा डुबेको अवस्थामा भेटिएको र त्यहाँबाट उद्धार गरेर अस्पताल पु¥याइएको सो पत्रिकाले जनाएको छ ।

यूएईको फरेन्सिक डिपार्टमेन्टले दिएको रिपोर्टअनुसार पनि उनको निधन पानीमा डुवेर भएको देखिन्छ । श्रीदेवीलाई उनी बसेको दुबईको अमिरात टावर्स होटलको बाथरुममा बेहोस अवस्थामा भेटिएको उनका परिवारले बताएका थिए । तर पछिल्लो रिपोर्ट फरक आएको छ ।

फरेन्सिक ल्याव रिपोर्टअनुसार पानीमा डुवेर मर्नु अघि श्रीदेवीले मद्यपान गरेकी थिइन् । परीक्षणको रिपोर्ट अनुसार उनको शरीरमा अल्कोहलका मात्र राम्रै देखिएको छ ।

खालिज टाइम्सका अनुसार श्रीदेवीलाई उनका पति बोनु कपुरले मृत्यु हुनुअघि ‘सरप्राइज’ डिनरमा लैजान चाहेका थिए । श्रीदेवीले डिनरमा जान तयार हुन्छु भनेर बाथरुम पसेपछि होटलको कोठाबाट बोनी कपुर एकछिन बाहिर निक्लिएका थिए ।

केही क्षणपछि बोनी कपुर होटलको कोठामा पसेर श्रीदेवीलाई बोलाए । तर बाथरुमबाट कुनै आवाज नआएपछि उनले होटलका कर्मचारीको सहयोग लिएर बाथरुमको ढोका खोले । त्यतिबेला बाथरुमको बाथटपमा भरिएको पानीमा श्रीदेवी बेहोस अवस्थामा थिइन् । उनलाई तत्कालै उद्धार गरेर अस्पताल पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।

बाथटममा डुब्नु अघि श्रीदेवी रक्सीको नशाले अर्धचेतमा रहेको पनि त्यहाँको अखबारले उल्लेख गरेको छ । शनिबार राति निधन भएकी श्रीदेवीलाई आइतबार बेलुका निजी विमानबाट मुम्बई ल्याएर अन्येष्टी गर्ने पक्षमा उनका परिवार थिए । तर फरेन्सिक ल्याप रिपोर्ट नआएसम्म अस्पतालले उनको शव नदिएपछि आइतबार श्रीदेवीलाई मुम्बई ल्याउन सकिएन ।

फरेन्सिक ल्यावको रिपोर्टसँगै श्रीदेवीको शव उनका पति बोनी कपुरलाई सोमबार त्यहाँको रशिद अस्पतालले दिएको छ । श्रीदेवीको शवलाई मुम्बई ल्याउने तयारी सोमबार साँझ दुबईमा भईरहेको थियो । कपुर परिवारका अनुसार सोमबार रातिसम्म श्रीदेवीको शवलाई मुम्बई ल्याएर श्रद्धाञ्जली कार्यक्रम राख्ने र त्यसपछि अन्त्येष्टी गरिने भएको छ ।

आफ्नो भान्जाको विवाहका लागि अभिनेत्री श्रीदेवी आफ्ना परिवारका साथ दुबई पुगेकी हुन् । उनको ५४ वर्षको उमेरमा निधन भएको हो ।