बिर्तामोड । नेपालमा चलचित्रले भने जस्तो व्यापार गर्न नसके पनि चलचित्र निर्माण गर्नेमा भने कमि आएको देखिदैन । यसैक्रममा नायिका शिल्पा पोखरेलले निर्माण गरेको पहिलो चलचित्र ‘मंगलम’ रिलिजको तयारीमा छ । नायिका पोखरेलको पहिलो चलचित्र मंगलम फागुन २५ गते उपत्यका बाहिर ५० र उपत्यकाभित्र १८ सिनेमा हलहरुमा एकैसाथ प्रदर्शनमा रहेको जनाइएको छ । बजार प्रवर्धन देश दौडाहामा रहेको चलचित्र निर्माण टिमले आइतवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रका बिषयमा जानकारी दिएको हो । चलचित्र मंगलमका कार्यकारी निर्माता छविराज ओझाले आफुले निर्माण गरेको अन्य चलचित्र भन्दा यो चलचित्र फरक रहेको बताए । छविराज प्रोडक्शनमा निर्माण भएको यस चलचित्रमा द्धन्द्ध नभएको बताउँदै ओझाले भने ‘ चलचित्रमा अन्तरसम्बन्ध द्धन्द्ध भने छ ।’ निर्माता ओझाको यो चलचित्र २३ औ चलचित्र हो । काठमाण्डौ र काठमाण्डौ आसपासमा छायाङ्कन गरिएको चलचित्र मंगलम २ घण्टा ४ मिनेटको रहेको बताइएको छ । चलचित्र मंगलम युवायुवतीको प्रेम भन्दा पनि आमा छोरा र बुबा छोराको प्रेमकथामा आधारित रहेको निर्देशक नवल नेपालले बताए । ‘पैसाका लागि भन्दा पनि आत्मा सम्मानका लागि मैले यो चलचित्र निर्माण गरेको हुँ’, निर्देशक नेपालले भने ‘ व्यापार सँगसँगै चलचित्र पनि राम्रो बनोस् भन्ने सवैको सपना हुन्छ ।’ निर्देशक नेपालले चलचित्र मंगलममा सामाजिक तथा पारिवारिक कथा बस्तु समेटिएकोले दर्शकले मन पराउनेमा ढुक्क भएको बताए । एक करोड ५ लाखको लागतमा निर्माण भएको चलचित्र मंगलममा पुष्प खड्का, शिल्पा पोखरेल, मिथिला शर्मा, निर शाह, पृथ्वीराज प्रसाई, साम्राग्य राज्यलक्ष्मी शाह लगायतको अभिनय रहेको छ ।