धरान/इलाका प्रहरी कार्यालय धरान परिषरमा रहेको क्यान्टिनले थुनुवासँग ‘खाजा/खाना’ लगायतमा ब्रम्हलुट मच्चाइरहेको पाइएको छ ।

हिरासतमा रहेका थुनुवाहरुले खाजा, पानी, चियालगायत सबैजसो चिजहरु अनिवार्य रुपमा क्यान्टिनबाट मात्रै खान पाउने व्यवस्था गरिएको छ । आफन्तहरुले घरबाट लगेका खानाहरु पूर्ण रुपमा रोक लगाइएको छ । तर, केही व्यक्तिहरुलाई भने छुट दिइएको केही दिन हिरासतमा बसेर छुटेका थुनुवाहरुले बताएका छन् ।
नाम नछाप्ने शर्तमा एक पूर्व थुनुवाका अनुसार डिएसपी ढकेन्द्र खतिवडाको समयमा बाहिरबाट खाना÷खाजा मात्रै हैन, सबैजसो चिजहरु क्यान्टिनबाटै खानु पर्ने बाध्यता बनाइएको थियो । अझ कतिसम्म भने सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ लाई लत्याउँदै सार्वजनिक स्थानहरुमा खानको प्रतिबन्धित गरिएको चुरोट÷सुर्तीहरु पनि भित्रबाट किनेमा पाउने व्यवस्था गरिएको थियो ।
‘बाहिर २५ रुपैयामा आउने चनाचिउराको मूल्य ५०–६० रुपैयासम्म तिर्नुपथ्र्यो ।’ ती थुनुवाले भने, ‘एउटा पानीको मूल्य ३५ रुपैयादेखि ५० रुपैयासम्म पथ्र्यो ।’ तत्कालीन समयमा प्रहरी जवान मौसम श्रेष्ठले क्यान्टिन सञ्चालन गरेका थिए । तर, अहिले उक्त क्यान्टिन यही मंगलबारदेखि प्रहरी हवल्दार भीम दाहालले सञ्चालनको अनुमति पाएका छन् । जवान श्रेष्ठले करिव १७ महिनाजति क्यान्टिन चलाएका थिए । तत्कालीन समयमा थुनुवासँग ब्रम्हलुट गरेको दाबी ती थुनुवाहरु गर्छन् ।
केही दिन हिरासतमा बसेका रामप्रसाद राई भन्छन्, ‘बाहिर भन्दा दोब्बरै महंगो थियो । एउटा उसिनेको अण्डा ३० रुपैया, फ्रुटी ३५ रुपैया, मासु खानुप¥यो भने १२० रुपैया लिन्थ्यो । त्यो पनि क्वालिटीको भए त ठिकै हो । ना मिठो छ, ना स्वाद नै छ ।’ गुणस्तरहीन खानाको दोब्बर महंगो मूल्य तिरेर खानु पर्ने बाध्यता रहेको त्यो पनि कैदीलाई जस्तै व्यहार गर्ने गरेको उनले गुनासो पोखे ।
अहिले पनि सबैजसोलाई बाहिरको खाना लान अनुमति दिइएको छैन् । केही थुनुवाहरु बाहेक सबैजसो थुनुवाहरुले बाहिरको खाना खान नपाउने पाइएको छ । बुधबारमात्रै ब्लाष्टकर्मी थुनुवा भेट्ने समयमा पुग्दा बाहिरबाट खाना लान पाउने सुविधा ‘नेपाल बैंकको सुन काण्डमा मुछिएका आरोपित’ हरुका आफन्तहरुलाई मात्रै दिइएको पाइयो । खाना बोकेर बसेका एक युवालाई सोध्दा उनले भने, ‘पहिला त यति पनि ल्याउन दिँदैनथ्यो । केही दिनदेखि ल्याइरहेका छौं ।’ उनका अनुसार अहिले पनि बाहिरको खाना ल्याउने सुविधा जो कोहीलाई छैन् ।
किन रोकियो त बाहिरको खाना ?
एक स्रोतका अनुसार आफन्तहरुले ल्याउने खानामा सूर्ती, चुरोट र अन्य कुराहरु पनि लुकाएर ल्याउने गरेका कारणले रोकिएको हो । तर, थुनुवाहरु भने यथार्थमा त्यो नभई कमिसनको चक्करका कारण बाहिरको खाना रोकिएको हो । त्यसमा डिएसपीसम्मको मिलेमतो हुने गरेको थुनुवा दाबी गर्छन् ।
जवदेखि डिएसपी खतिवडा धरान सरुवा भए त्यसपछि यता सञ्चालनको जिम्मा पाएका जवान श्रेष्ठले क्यान्टिनको खाना खानुपर्ने अनिवार्य नियम बनाएका थिए । यतिसम्म कि आधाकेजी मासु खानु पर्दा १४० मूल्यको ठिक दोब्बर लिने गरेको १० दिनजति हिरासतमा बसेर फर्किएका एक थुनुवाले बताए । तास खेल्दै गरेको बेला पक्राउ परेका उनीहरुले मासु किनेर खानु पर्दा त्यसरी मूल्य लिने गरेको उनी दाबी गर्छन् । हालका डिएसपी पौडेलले भने ‘सुरक्षालाई मध्यनजर’ गर्दै बाहिरको खाना खुवाउन नदिएको दाबी गर्छन् । ‘सुरक्षाको दृष्टिकोणले रोकेको हो ।’ उनले भने ।
नयाँ डिएसपीले नियन्त्रण गर्लान् ब्रम्हलुट ?
डिएसपी खतिवडाको सरुवा भएलगत्तै काठमाडौंमा लामो समय बिताएर आएका डिएसपी रामेश्वर पौडेलले जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हालेलगत्तै उनले केही आन्तरिक प्रणालीहरु परिवर्तन गरेको दाबी गरिन्छ । इप्रकाबारे जानकार एक भन्छन्, ‘क्यान्टिन सञ्चालक जवान श्रेष्ठले ब्रम्हलुट मच्चाएको बारेमा डिआइजी कार्यालयसम्म कुरा पुगिसकेको थियो । त्यसपछि अहिलेका डिएसपीले क्यान्टिन सञ्चालनको जिम्मा भीम दाहाललाई दिएका छन् । पुनः श्रेष्ठले क्यान्टिन सञ्चालनको लागि चिठ्ठा हालेका थिए । तर, डिएसपी पौडेलले नै कुनै पनि हालतमा पुनः सञ्चालनको जिम्मा नदिने अडान लिएपछि श्रेष्ठ पछि हटेको ती स्रोत बताउँछन् ।
‘बढी गरे, कारबाहीको लागि सिफारिस गरिदिन्छुसम्म भन्नुभयो ।’ त्यो स्रोत भन्छ, ‘त्यसपछि मात्रै पछि हटेछ ।’ खासमा क्यान्टिन सञ्चालनको लागि चिठ्ठा तान्ने गरिन्छ । र, त्यही चिठ्ठा जसलाई पर्छ उसैले सञ्चालनको अनुमति पाउने गर्दछ । त्यही अनुरुप दाहालले सञ्चालनको जिम्मा पाएका हुन् । ‘हामीले मार्केट भन्दा एक रुपैया सस्तोमा खान पाइन्छ ।’ डिएसपी पौडेलले भने, ‘पहिला के भयो मलाई थाहा भएन, म आएपछि सबैतिर बुझेर नै क्यान्टिन चेन्ज गरेको हो । नयाँलाई दिइसकेको छु । अव त्यस्तो हुँदैन ।’ जवान श्रेष्ठलाई के कारबाही हुन्छ त ? भन्ने जिज्ञासामा उनले यही कारबाही हुन्छ भन्ने हुँदैन । तर, कसैले उजुर गरेमा त्यसको छानविन हुने बताए ।
डिएसपी पौडेलका अनुसार हवल्दार दाहालले ६ महिनासम्म सञ्चालन गर्ने गरी माइन्युट गरेको र त्यो बीचमा खानाको गुणस्तर घटेमा हटाउन सक्ने व्यवस्था गरेको छ । ‘यसलाई आजैबाट म नियन्त्रण गर्छु ।’ उनले भने ।