पाल्पा । बाँदरले पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ किसानले उत्पादित मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् । वर्षभरि खाने अन्नबाली नष्ट गरेपछि राहतका लागि निवेदन बोकेर गाउँपालिकाको कार्यालयमा छहराका किसान धाउन थालेका हुन् । बाँदरलाई पहिले बन्दुकले हानेर मार्ने गरेपनि पनि अहिले मार्न पाइँदैन, प्रशस्त कुकुर पनि नभएकाले बाँदरको संख्या बढेको र बस्तीमा प्रवेश गरी अन्नबालीमा क्षति गर्न थालेको स्थानीय बासिन्दा बताउँछन् । वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्यता बढेको होे । पहिला अन्नबाली क्षति कम गरे पनि अहिले ठूलो मात्रामा बाँदर बारीमा पसेर क्षति धेरै गरेको रमा खत्रीको भनाइ छ । मेहनत गरेर फलाएको मकै पाक्न लाग्दा बाँदरले क्षति गरेपछि किसानलाई रुनु न हाँस्नु भएकाले वर्षभरि खाने मकै बारीबाट नै सखाप भएपछि राहतका लागि गाउँपालिकामा धाएको खत्रीले बताए । मेहनत खेर गएको र नोक्सान ब्यहोर्नु परेकामा सम्बद्ध किसानको दुखेसो छ । पहाडी जिल्ला पाल्पामा धानभन्दा मकैबाली राम्रो उत्पादन हुने भए पनि बाँदरले क्षति गर्दा किसानले पाकेको बाली स्याहार्न पाएका छैनन् । स्थानीय तथा किसान गणेश न्यौपानेका अनुसार मकै मात्र होइन, तरकारी, सुन्तलालगायतका वस्तु पनि बाँदरले खाने र नष्ट गर्न थालेपछि यो गाउँपालिकामा सयौँभन्दा बढी घरपरिवार समस्यामा परेको बताए । बाँदरले अन्नबाली सखाप पा¥यो भनेर रैनादेवी छहरा गाउँपालिकामा राहतका लागि पाँच सातवटा निवेदन दैनिकजसो आएको गाउपालिका प्रमुख रामबहादुर कार्कीले बताए । बाँदरले मकै सखाप पा¥यो भनी राहतका लागि निवेदन परेकाले किसानलाई परेको समस्या सम्बोधन गर्न कार्यक्रम ल्याउने तयारीमा रहेको उनले बताए ।