इटहरी । नेकपा (एमाले) सुनसरीको जारी अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर आइतबार कुटाकुट भएको छ । एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले प्रा.डा.बद्रीविशाल पोख्रेलमाथि हातपात गरेका हुन् । जिल्लाको प्रतिवेदन पेश गर्ने क्रममा विवाद बढेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

एमाले पार्टीमा रहेर पार्टीकै हितविपरीत लागेको भन्दै पोख्रेललाई कारबाही गर्न भण्डारीले माग गरेका थिए । प्रतिवेदनमा नामै किटान गरेर कारबाही गर्न भनेपछि जवाफ माग्ने क्रममा प्रा.डा. पोख्रेलमाथि भण्डारीले हातपात गरेको प्रत्यक्षदर्शी एमाले प्रतिनिधिहरूले बताएका छन् ।

भण्डारीले पेस गरेको प्रतिवेदनमा आफूलाई अराजकसम्म भनेपछि त्यसको जवाफ माग्दा मुक्का प्रहार भएको पीडित पोख्रेलले बताए । मुक्का छल्दा भण्डारीले हातमा लगाएको घडीले आफ्नो हात काटेको पोख्रेलले बताए । हातमा लागेको चोट देखाउँदै प्रा.डा.पोख्रेलले भने, ‘जवाफ माग्दा कुटपिट गर्ने यो कस्तो पार्टी हो ?’ पोख्रेलको हातमा चोट लागेर रगत बगेको थियो । प्रतिवेदनमा स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गर्ने भनी नामै तोकेर वाचन गरेपछि विवाद बढेको हो । सामान्य विवाद मात्र भएको तर, आफूले हातापात नगरेको एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले बताए । 

इटहरीको लायन्स भवनमा एमालेको आठौँ जिल्ला अधिवेशन चलिरहेको छ । शनिबार उद्घाटन भएको अधिवेशनले नेतृत्वमा कुनै सहमति जुटाउन नसकेपछि आइतबारदेखि निर्वाचन प्रक्रिृया थालिएको छ । एमाले सुनसरीमा नेतृत्वको लागि निलम खनाल र खेमराज पोख्रेल चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका आकाङ्क्षी पोख्रेल एमालेभित्र प्रभावशाली नेताको रूपमा उदयीमान छन् भने खनाल संस्थापन पक्षका बलियो दाबेदार मानिन्छन् ।