इटहरी । इटहरीमा २८ वर्षीय युवकको हत्यामा संलग्न एक सिटीसफारी चालकलाई पक्राउपछि आइतबार सार्वजनिक गरिएको छ ।

गत शनिबार इटहरी–७ रामजानकी चौकमा २८ वर्षीय युवक स्थानीय भीम भनिने रामकुमार पण्डितको खुकुरी प्रहारबाट विभत्स हत्या भएको थियो । हत्यामा संलग्न इटहरी–७ कै उमेश चौधरीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । दैनिक ज्यालादारी गरेर परिवारको पेट पाल्दै आएका पण्डितलाई शनिबार इटहरी–७ मा बाटो छेकेर खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इटहरी प्रहरीका अनुसार शनिबार काम सकेर घर फर्किंदै गर्दा पण्डितको साइकल र चौधरीको सफारी ठोक्किन खोजेको थियो । त्यसैमा भनाभन हुँदाहुँदै चौधरीले खुकुरी निकालेर घाँटीमा प्रहार गर्दा पण्डितको घटनास्थलमै मृत्यु भएको हो ।

इटहरी प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीका अनुसार यसअघि पनि दुवै जनाबीच गाउँमै झगडा भइसकेको बुझिएको छ । चौधरीले प्रयोग गरेको इटहरी उपमहानगरपालिका ००१ ह ०३५ नम्बरको सिटीसफारी र पण्डितले प्रयोग गरेको साइकल आपसमा ठोक्किन् खोजेपछि सामान्य भनाभन भएको र विवाद बढेपछि चौधरीले खुकुरी प्रहार गरेको देखिएको इटहरी प्रहरीको भनाइ छ ।

इटहरी–७ का स्थानीय सङ्गीता चौधरीको अनुसार गत वैशाख १७ गते पनि पण्डितमाथि चौधरीले रड प्रहार गरी घाइते बनाएका थिए । ‘मारेरै छोड्छु भन्दैथियो, आखिर त्यही भयो’–चौधरीले भनिन् । चौधरी र पण्डित एकै गाउँका छिमेकी हुन् । ज्यालामजदुरी गर्दै आएका रामकुमार यही बुधबार दुबई उड्ने तयारीमा जुटेका थिए ।

जसोतसो साहुबाट ऋणपान गरेर दुबई उड्न तयार रहेका पण्डितको शनिबार हत्या भएको खबर पाए लगत्तै परिवार शोकमा डुबेको छ । हत्यामा संलग्न चौधरीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने पीडित परिवारको माग छ । मृतक भीम भनिने रामकुमारको ६ वर्षका छोरा र नौ महिने काखे छोरी रहेकी छन् ।

विदेश गएर धन कमाई सुखका साथ परिवार पाल्ने सपना बोकेका पण्डित शनिबार इटहरीमै अस्ताएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । यता प्रहरी नियन्त्रणमा रहेका चौधरीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।