धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) बेला–बेला विवाद र चर्चामा आइरहन्छन् । कहिले सामाजिक सञ्जालमा जथाभावी लेखेको र बोलेको कारण विवादमा पर्ने उनी कहिले व्यक्तिको नाममा रहेको जग्गामा जबरजस्ती वृक्षरोपण गरेर विवादमा परेका छन् । पछिल्लो समय उनी धरान उपमहानगरपालिका–२० विष्णुपादुका क्षेत्रमा स्थानीयसँग छलफल विनै पाइपलाइन विस्तार गर्ने क्रममा विवादमा परेका छन् । केही दिनदेखि स्थानीयले छलफलबाट समस्या समाधान गर्न माग गर्दै आए पनि नगर प्रमुख राईले त्यसलाई बेवास्ता गरेर बलमिच्याइ“ गर्न खोज्दा उनका समर्थक र स्थानीयबीच झडप भयो । त्यसक्रममा एक जना घाइतेसमेत भए ।

आफ्ना मागहरु लिएर उपमहानगरपालिका पुगेका स्थानीयवासीको भिडियो खिचेर नगर प्रमुखले नै सामाजिक सञ्जालमा हालेर बदनाम गरेको भन्दै धरान–२० का बासिन्दा आक्रोसित बनेका थिए । स्थानीयहरु नगर प्रमुखसहितको टोलीमाथि नै जाइलागेपछि नगर प्रमुखले माफी माग्नुपरेको थियो । पटक–पटक आउने गरेको यस्तो विवादमा नगर प्रमुख आफै जोडिनु दुःखद् हो । विगतमा आफूले उठाएका मागहरु पूरा नहुँदा अरुलाई तथानाम गालीगलौज गर्ने, तोडफोडमा उत्रिने व्यक्ति आफै नगर प्रमुख बनेपछि आफ्नो विगत सम्झिएर पनि अरुका मागहरुको सुनुवाइ गर्नुपर्ने हो । छलफल, वार्तामार्फत् समस्याको समाधान गर्न पहल गर्नुपर्ने हो तर, उनमा अहिले अरुका मागहरुको सुनुवाइ गर्नेभन्दा बेवास्ता गर्ने प्रवृत्ति बढ्दो छ । अरुका मागहरु सुन्न नसक्ने र नजरअन्दाज गर्ने जनप्रतिनिधि हुन सक्दैनन् । नगर प्रमुख राईले आफ्ना यी र यस्ता कमजोरीहरु सच्याउनु आवश्यक छ । आफ्ना मागहरु ठूला हुने र अरुका कुराको नजर अन्दाज गर्ने प्रवृत्ति धरानका लागि त फाइदाजनक छैन नै उनका लागि व्यक्तिगतरुपमा पनि त्यसले असर गर्छ ।

कतिपय विषयमा नगर प्रमुखले सामाजिक सञ्जालमा जे लेख्यो, जे बोल्यो उनका समर्थकहरुले त्यसै गर्ने गरेका छन् । उनले विवादित विषयमा लेख्दा, बोल्दा धरानमा कहिले धार्मिक, जातीयजस्ता संवेदनशील विषयमा विवाद उत्पन्न भएका छन् । यस्ता संवेदनशील विषयमा विचार पु¥याएर बोल्दा मात्र नगर प्रमुखको गरिमा कायम रहन्छ । अन्यथा यस्ता विषयले शदियौंदेखि मिलेर बसेको समाजमा वैमनश्यता निम्त्याउने, द्वन्द्वको अवस्था सिर्जना हुने जोखिम हुन्छ । नगर प्रमुखले समाजलाई फुटाएर, झगडा गरेर होइन जुटाएर, सबैको साथ सहयोग लिएर मात्र विकासका गति अघि बढाउन सम्भव छ । त्यसैले कुनै पनि विषयमा नजरअन्दाज र बलमिच्याइँ गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । त्यसले मात्र धरानको विकास र समृद्धिमा फाइदा पुग्छ ।