विराटनगर । सप्तरीको बलानबिहुल गाउँपालिका–२ का ४० वर्षीय उमेश राम नसुतेको तीन दिन भयो ।

उनकी ४० वर्षीया श्रीमती श्याम रामको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएपछि शव लैजान नपाएको कारण उनलाई निन्द्रा लाग्न छाडेको छ ।

५ चैतमा स.१ त ३२८ नम्बरको ट्याक्टरले सप्तरीको बोदेबरसाइन नगरपालिका–१ मा  श्यामलाई ठक्कर दिएपछि घाइते भएकी थिइन् । उनलाई उपचारको लागि विराट नर्सिङ होममा परिवारले ल्याए । उपचारको क्रममा ३ वैशाखमा मृत्यु भयो । आर्थिक अवस्था नाजुुक रहेको रामको उपचारमा १२ लाख खर्च भएको उमेशले बताए । हस्पिटलबाहेक फार्मेसीको मात्रै ८ लाखको बिल आएको उनले सुनाए । हस्पिटलको १२ लाखमध्ये साढे चार लाख रुपैयाँ र फार्मेसीको ८ लाखमध्ये तीन लाख रुपैयाँ दिएको बताए । ८ लाख रुपैयाँ दिए मात्रै हस्पिटलले शव घर लैजान दिने बताउँदै आएको उनले बताए ।

‘भएको सम्पत्ति र ऋण खोजेर श्रीमतीको उपचारमा ७ लाख रुपैयाँ बुझाइसकेँ । अब आउने स्रोत पनि केही छैन । भएको सम्पत्ति पनि श्रीमतीको उपचारमा सकियो’ उनले भने, ‘अस्पताल र फार्मेसीको सम्पूर्ण भुक्तानी नतिरे शव लैजान नदिने भन्दैछन् ।’ श्रीमतीको अन्तिम संस्कार पनि गर्न नपाएर पछुतो लागेको उनले सुनाए । ‘मैले हस्पिटल प्रशासनमा पनि पुगेर भएको पैसा दिइसकेँ । कतै ऋण पाए ल्याएर दिने सहमति कागज गरेर श्रीमतीको शव दिए पनि अन्तिम संस्कार गर्ने थिएँ’–उनले भने ।

सप्तरी प्रहरीले दुर्घटना गराउने चालक श्रवण सदाहीलाई पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ । उनको पनि आर्थिक अवस्था नाजुक भएकाले अहिलेसम्म उपचार खर्च पनि नदिएको उनले बताए ।

यता विराट नर्सिङ होमका प्रशासन प्रमुख पदम बिनाडीले अस्पतालमा लागेको खर्च मात्र दिए शव पठाइदिने बताए । ‘अस्पतालमा पनि यति धेरै खर्च हुन्छ । यसरी नै सबै बिरामीलाई हामीले निःशुल्क उपचार गर्दै पठाए कहाँबाट हस्पिटल चल्छ ?’ उनले भने, ‘उपचारमा बरु छुट हुन्छ । तर, निःशुल्क गर्न सकिँदैन ।’

सहयोगको अपिल
उमेश रामले श्रीमतीको शव अस्पतालबाट लैजानको लागि सहयोगका लागि अपिल गरेका छन् । उनले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी श्रीमतीको शव अस्पतालबाट लगेर अन्तिम संस्कार गर्नको लागि सहयोग गरेका हुन् । ‘आफूसँग भएको सबै पैसा सकियो । अस्पतालले भनेजति पैसा दिन नसक्दा अहिले श्रीमतीको शव लैजान पाएको छुइनँ’ उनले भने, ‘श्रीमतीको शव घरमा लगेर अन्तिम संस्कार गर्नको लागि सरोकारवाला निकाय, समाजसेवीदेखि सम्पूर्णमा आग्रह गर्दछु ।’