लिबाङ (रोल्पा)/ ह्वामा–७ चुत्रेगातिना रोल्पाकी ७४ वर्षीया पुर्माला पुन पालैपालो तीन जनाको बुई चढेर बैंकमा खाता खोल्न केही दिनअघि सदरमुकाम आइपुगेका थिए । त्यस कामका लागि उहाँले दुई आफन्त ५४ वर्षीय रुपसिं डाँगी र ३२ वर्षीय प्रेमबहादुर पुनमगरलाई दैनिक पाँच-पाँच सयका दरले ज्याला दिनुपप्यो । बिहान सदरमुकाम आएर साँझ गाउँ फर्कन नसकिने भएपछि चार जनाको टोली सदरमुकामकै एक होटेलमा बास बस्यो । भरिया खर्च तिर्दा र होटेलमा खाए बसेको खर्च कटाउँदा वृद्धभत्ता बापतको आधा रकम यतै सकियो ।
यातायातको सुविधा नहुँदा माघ महिनाको चिसोमा पनि खलखली पसिना बगाउदै पुर्मालाको टोली सदरमुकाम लिबाङ आएको हो । करिव ४ वर्ष अघि पक्षघात भएदेखि उहा हलचल गर्न सक्दैनन् । परिवारको सहयोगमा दिन गुजार्दै आएकी ७४ वर्षीया पुनलाई दिसापिसाब गर्दापनि अरुको सहायता चाहिन्छ । ह्वामा गाविस सदरमुकामसँगै सटेको गाविस हो । बत्तीमुनि अँधेरो भने झै सो गाविसका पूरै वडामा मोटरबाटो पुगेको छैन भने मोटरबाटो पुगेको गाविस भवनसम्म पनि कुनै किसिमका यात्रुबाहक यातायातका साधन सञ्चालनमा रहेका छैनन् ।
गाविसले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता बैंकिङ पद्धतिबाट प्रदान गर्ने व्यवस्था गरेपछि उनीहरुलाई सदरमुकाम नै जानुपर्ने बाध्यता आइलागेको हो । “पाएको भत्ता नलिन पनि भएन, लिँदा पनि सास्ती छ,” उनका छोरा दीपक पुनले भने । पुन बेरोजगार छन् । आयस्रोतको कुनै बाटो नभएपछि सानै रकमका लागि पनि ठूलो खर्च गर्न तयार भएको उनको भनाइ छ ।
पुनका अनुसार रोग, भोक र गरिबीले पिल्सिएका रोल्पाली युवा कामको खोजीमा दिनप्रतिदिन विदेश पलायन हुन थालेपछि गाउँमा ज्याला तिर्दा पनि काम गर्ने मान्छे सहज रुपमा फेला पर्दैन । केही वर्ष पहिले जिविस, गाविस र सांसद विकास कोषको बजेटबाट मोटरबाटोका लागि ट्रयाक खोल्ने काम भएपनि बाटोले अझै पूर्णता पाउन सकिरहेको छैन । मोटरबाटोको पहँुच नभएपछि ह्वामाली जनतालाई गाउँमा उत्पादन भएका सामान सदरमुकामसम्म पुप्याउन र सदरमुकामबाट दैनिक उपभोग्य सामान गाउँसम्म पुप्याउन असहज हुने गरेको गाउँलेको गुनासो छ । दुई हप्ताअघि मात्रै गाविस सचिवको जिम्मेवारी सम्हाल्नुभएका ह्वामा गाविसका सचिव तुलप्रसाद कवरका अनुसार गाविसले मोटर गुडाउन संभव नभएको हुँदा यातायात व्यवसायीले यसतर्फ समयमै सोच्नुपर्ने बताए ।
- रासस