इटहरी । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा आइतबार बिहान घरभित्रै दम्पती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाका अनुसार दुवैजना घरभित्रै बेग्लाबेग्लै मृत भेटिनुले घटना रहस्यमय रहेको छ । आइतबार बिहान ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया स्वेता खातुन घरभित्रै मृत फेला परेका हुन् । एसपी तिम्सिनाका अनुसार फुसले बनेको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ भने श्रीमती खातुनको ओछ्यानमा शव भेटिएको हो ।
अनुसन्धान नसकुञ्जेल तत्काल केही भन्न नसकिने एसपी तिमल्सिना बताउँछन् । घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि ३ किलोमिटर पूर्वमा अवस्थित छ ।
श्रीमती खातुनको हत्यापछि श्रीमान् सुकदेवले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । वरिपरि बाँसको टाटीले बारेको घरभित्र उल्टै कोठामा बेग्लाबेग्लै तरिकाले दम्पतीको शव भेटिनुले घटना शङ्कास्पद देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएपसी योगराज खतिवडाले बताए । “घटनाको प्रकृति हेर्दा श्रीमतीको हत्यापछि श्रीमान्ले आत्महत्या गरेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ”–डिएसपी खतिवडाले भने ।
मृतक स्वेताको माइती मोरङ कदमाह रहेको र त्यहाँबाट आफन्तहरू आइसकेकाले दुवैतर्फको विवरण सङ्कलन गरेर प्रहरी अनुसन्धानमा जुट्ने जुटिसकेको डिएसपी खतिवडाले बताए । तत्काललाई घटना के भएको हो अनुसन्धान पछि मात्रै सबै खुल्ने उनले बताए ।