धरान । धरानका राजनीतिक दलहरूले इलाका प्रशासन कार्यालय धरानमार्फत् स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । बिमा बोर्डले हालै गरेको निर्णयले धरानबासी मर्कामा परेको भन्दै धरानमा रहेका राजनीतिक दलहरूले इलाका प्रशासन कार्यालयका प्रमुख लक्ष्मीप्रसाद रेग्मीमार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

“बिमा बोर्डले गरेको निर्णयले धरानबासी मर्कामा परेका छन्, यो विषयमा बीपी प्रतिष्ठानका पदाधिकारीसँग पनि कुरा गरेका छौँ” नेपाली काङ्ग्रेसका नगर सभापति श्याम पोखरलेले भने, “बिमा बोर्डको निर्णयविरुद्ध मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका हौँ ।” बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हाल बिमा बोर्डले प्रथम सेवा बिन्दु नमानी रेफरल (अन्य अस्पतालबाट थप उपचारका लागि बिरामी पठाइने स्थान) अस्पतालको रूपमा कायम गरेको छ । बोर्डको यो निर्णयले प्रतिष्ठानलाई प्रथम सेवा बिन्दु मानेर बिमा गर्नेको सङ्ख्या एक लाख ४८ हजारभन्दा बढी छन् । 

धरानका ५ वटा राजनीतिक दलहरूले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई कडा आन्दोलन गर्ने चेतावनी दिँदै ध्यानाकर्षण पत्र बुझाएका हुन् । बोर्डको निर्णयविरुद्ध नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) ले बुझाएका हुन् । धरान नगरभित्र बीपीबाहेक अन्य सरकारी स्वास्थ्य संस्था छैन । यता बीपी प्रतिष्ठानले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै बिमा बोर्डले प्रतिष्ठानसँग नवीकरण नगरेको जनाएको छ । विगतको करिब ७४.५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको सह–प्रवक्ता डा. अभिजित कुमारले उल्लेख गरेका छन् । उनले बोर्डले भुक्तानी दिन पनि बाँकी रहेको र नवीकरण यही असार ३१ गते नै म्याद सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।