विजयपुर/नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले काठमाडौँलाई लोडसेडिङ मुक्त बनाउने अभियान चलाइरहँदा प्राधिकरणको धरानस्थित शाखा पनि विद्युत् चोरी (चुहावट) गर्नेविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । शाखाले एक हप्ताभित्र धरानका ११ वटा लघुउद्योग र दुईजना सर्वसाधारणलाई विद्युत् चोरी तथा अवैध प्रयोग गर्दागर्दै फेला पारेर कारवाही थालेको छ ।
कारवाहीमा पर्नेमा नाम चलेका लघुउद्योग र ग्याारेजहरु पनि छन् । प्राधिकरणका धरान शाखा प्रमुख खिलनाथ अर्यालका अनुसार गत शुक्रबार मात्र धरान–१७ स्थित डाँडाघोपाका श्याम बुढाथोकी र बन्दना राईलाई हुक प्रयोग गरी बिजुली चोरी गरिरहेको अवस्थामा फेला पारेको थियो । बुढाथोकी र राईलाई क्रमशः ६ हजार ३ सय र १२ हजार २ सय २० रुपैयाँ जरिवारना गराएको पनि उनले जनाए । उनीहरुलाई विद्युत् चुहावट नियन्त्रण विनियमावली अनुसार कारवाही गरिएको अर्यालले जनाए । यससँगै प्राधिकरणले दैनिक छड्के जाँच पनि शुरु गरेको छ ।
‘हामीले सर्वसाधारणबाट आएका सूचनाका आधारमा पनि छड्के चेक गर्ने गरेका छौँ’, अर्यालले भने, ‘यसरी विद्युत् चोरी गर्नु र अवैध प्रयोग गर्नु अपराध हो । हामी कुनै हालतमा कारवाही गर्छाैं ।’ अहिले चुहावट नियन्त्रण टोलीसमेत बनाएर छड्के जाँच गर्न थालेको बताउँदै उनले भने, ‘पछिल्लो एक हप्तामा ११ लघुउद्योग र १० सर्वसाधारणलाई कारवाही गरिसकेका छौँ ।’ यो प्रक्रिया निरन्तर रहने जनाउँदै अर्यालले उपभोक्ताहरुबाट सहयोगको अपेक्षा गरेको सुनाए ।
प्राधिकरणले एक हप्तामै १ लाख १० हजार ८ सय ७० रुपैयाँ जरिवाना असुल गरेको छ । विद्युत् चोरी र अवैध प्रयोग गर्दा प्राधिकरणले कारवाही गर्ने मात्र नभई सामाजिक बेइज्जती पनि हुने भएकाले यस्तो कार्य निन्दनीय हुने प्राधिकरणको धरान शाखाका इन्जिनियर साजन महर्जनको भनाइ छ । ‘विद्युत् चोरी गर्दा वा अवैध प्रयोग गर्दा करेन्ट लागेर ज्यान पनि जान सक्छ’, उनले भने, ‘यसमा सावधानी अपनाउनुपर्छ, वैधानिक रुपमा विद्युत् प्रयोग गर्न सबैले पाउँछ ।’ प्राधिकरण शाखाका अनुसार अवैध रुपमा विद्युत् प्रयोग गर्ने ११ उद्योगबाट एक हप्तामा झण्डै ९० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
उद्योगहरुलाई विद्युत् चुहावट नियन्त्रण विनियमावलीअन्तर्गत जरिवाना गरिएको छ । लघुउद्योगहरुमा स्वीकृत क्षमताभन्दा बढीको एमसीबी प्रयोग गरिएको पाइएपछि प्राधिकरणले आइन्दा वैधानिक रुपमा विद्युत् चलाउने शर्तमा जरिवाना लिएर छाडेको छ । प्राधिकरणले चोरी र अवैध बिजुली प्रयोग गर्नेहरुलाई कारवाही गर्न अब प्रहरी प्रशासनको पनि सहयोग लिने भएको छ । पटकपटक चोरी वा अवैध प्रयोग गरेको पाइए प्राधिकरणले मात्र हैन, प्रहरीमार्पmत् पनि कारवाही अगाडि बढाइने शाखा प्रमुख अर्यालको भनाइ छ । विद्युत् चुहावट नियन्त्रण ऐन– २०५८ को विनियमावलीमा विद्युत् चोरी तथा अवैध प्रयोग गर्नेलाई पहिलोपटक गरिएको जरिवानाको दुई सय प्रतिशत थप गरी छ महिनासम्मको कैद सजाय हुने व्यवस्था छ । क्रस लघुउद्योगको नाम तिरेको जरिवाना
हिमाली ग्रिल उद्योग | १२४८७÷–५० | |
सृजना वर्कसप | ६७५० | |
डीबी ग्रिल उद्योग | ७०८७÷–५० | |
कोशी ग्यारेज | ११४७५ | |
कोशी मसला उद्योग | ७०८७÷–५० | |
कोशी इन्जिनियरिङ वर्कसप | ६७५० | |
हेम डेन्टिङ ग्यारेज | १०१२५ | |
उत्तम काष्ठ उद्योग | ७०८७÷–५० | |
न्यु छिन्ताङ ग्रिल | .६७५० |
जय विश्वकर्मा | १२००० | |
स्रोत- नेपाल विद्युत् प्राधिकरण, धरान शाखा