गाविसको फर्जी काम
भूपेन्द्र तिम्सिना
मोरङ /०३५ सालदेखि ढालफाँड गरेर ०३६ देखि बसोबास गर्ने पूर्वी मोरङका वास्तविक जग्गावालाहरुको पूर्जा अर्कैले निकालेका घटनामध्ये पछिल्लो पटक हसन्दह गाविस कार्यालयले नै फर्जी काम गरेको रहस्य खुलेको छ । यस क्रममा हसन्दहका ४ परिवार यसवेला आफुले जोतभोग गरेको जग्गाको अर्कैले पूर्जा निकालेर आफुहरु विरुद्ध मुद्धा नै हालेपछि स्थानीय पिडीत त्यसविरुद्ध लागि परेका छन् । किर्ते गरेर पूर्जा निकाल्ने पक्षको प्रभावमा परेर गाविस कार्यालयले कार्यालयमा लगत (रेकर्ड) नै नभएको अवस्थामा ३१ वर्षको एकैचोटी मालपोत बुझेको घटना यसबेला रहस्यको घेरामा परेको छ ।
हसन्दह ८ का विष्णुबहादुर थापा, नेत्रबहादुर थापा र अविराम दर्जीले ०३५ सालमा ढालफाँड गरी ०३६ सालदेखि बसोबास गर्दै आएको जग्गा ०४१ मा धरानका अम्विका दहालले आफ्नो नाममा धनिपूर्जा निकाले छन् । त्यो कुरा थाहा भएन । पछि वसन्त भट्टराई अध्यक्ष रहेको सुकुम्बासी समस्या समाधान आयोग मोरङबाट ०५५ मा जोतभोगको आधारमा थापा र दर्जीले पूर्जा लिएका थिए । ‘हामीले जोतभोग गरेको जग्गा लामो समयपछि बल्ल दर्ता गर्यौं भनेर ढुक्क भयौं, तर त्यसअघि नै किर्ते गरेर अर्कैले दर्ता गरेर हामीहरुमाथि अन्याय गरेको कुरा यसबेला थाहा भयो ।’– पीडित मध्येका नेत्रबहादुरले ब्लाष्टसँग भने ‘त्यो बेला आयोगले दावी विरोधका लागि सूचना निकालेको र कसैले दावी विरोध नगरेको अवस्थामा विना लगत यसबेला गाविसले तिनै किर्तेवालाबाट मालपोत बुझेर हामीमाथि अर्काे अन्याय गर्यो ।’ त्यहीका वैजनाथ मण्डलले ०६५ माघ १५ गते चोटीलाल चौधरीसँग किनेर मालपोतमा पास भएको ७ कठ्ठा ४ धुर जग्गा समेत किर्ते पूर्जामा परेको कुरा झनै रहस्यको बनेको स्थानीयले बताएका छन् । ‘हैन, मैले मालपोतमा पास गराएर किनेको जग्गा कसरी उस्को हुन्छ हौ ?– मण्डलले भने ।
साविक वयरबन ९ ‘ब’ हाल हसन्दह ८ को कित्ता नम्बर १८६ को विष्णुबहादुर थापाको ७ कठ्ठा १० धुर, किनं १८७ र २७८ को नेत्रबहादुर थापाको ६ कठ्ठा ११ धुर, किनं १७८ को अविराम दर्जीको २ कठ्ठा ७ धुर र किनं १८५ को वैजनाथ मण्डलको ७ कठ्ठा ४ धुर जग्गाको पूर्जा छ । उनीहरुले नियमित मालपोत तिरिरहेका छन् । तर सोही कित्ता समेतका जग्गामा पर्ने जग्गा किनं ९ मा अम्बिकाको नाममा दर्ता गरिएको थियो ।
अम्बिकाको निधन भएपछि उनका छोरा पुण्यप्रसादको नाममा सो जग्गा नामसारी गरेर ०७२ फागुन १९ मा पीडित ४ जनाको जोतभोगको क्षेत्रमा पर्ने १ विगाहाको एकैचोटी ५ हजार ५ सय २४ रुपैयाँ मालपोत तिरेका छन् । मालपोत तिरेको त्यही रसिदलाई समेत थप प्रमाण बनाएर ०७२ चैत ८ गते जिल्ला अदालतमा ४ जना विरुद्ध मुद्धा हालेपछि पीडितले आफुमाथि अन्याय भएको कुरा थाहा पाए । त्यसपछि गाविसमा हल्लिखल्ती मच्चियो । भोतभोगवालालाई अन्याय परेको र न्यायका लागि पहल गर्नुपर्ने भन्दै यही वैशाख ६ को स्थानीयको सर्वपक्षीय भेलाले गाविस सचिव शंकर कार्कीको संयोजकत्वमा चार प्रमुख दल सहित पीडितहरु राखेर समिति बन्यो । त्यसबारे खोजविन गर्न समितिका सदस्य पहिलो पटक वैशाख १४ मा मालपोत कार्यालय बेलबारी पुगे । कार्यालयले १० वर्षसम्म मालपोतको तिरो नतिरेमा कारबाही गरिने तथा सरजमिन गरेर मात्र जरिवाना गरेर तिरो तिर्न लगाउने प्रावधान विपरित तिरो तिरेको देखिएको कुरा जनायो । त्यस अवस्थामा गाविस सचिव कार्कीले आफु र मालपोत प्रमुखमात्र गोप्य भेटघाटको प्रचञ्च रचेको भन्दै समिति सदस्यहरु रुष्ट बनेका छन् । समितिको सदस्यका रुपमा रहेका एमाले हसन्दह अध्यक्ष पदम धिमालले गाविस सचिवले आलटाल गर्ने गरेको भन्दै उनको गतिविधि रहस्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।
यसबारेमा गाविस सचिव कार्कीले लगत गाविसमा आइनपुगेको अवस्थामा धनिपूर्जाका आधारमा मालपोत बुझेको जवाफ दिएका छन् । उनले आफु र मातहतका कर्मचारीले दोहोरो स्वामित्वको झमेला भएको कुरा थाहा नपाएको बताए । उनले केही बुझ्नु पर्ने कुरा बुझेर बसोवासको प्रमाण भएको कागजात गाविस कार्यालयले पीडित पक्षलाई प्रदान गर्ने बताए । तर वैशाख १९ मा बसेको समितिको वैठकमा सचिव कार्कीले आलेटाले गरेर बुधबारलाई मात्रै वैठक सारेको बुझिएको छ ।
नेपाल भूमिहीन सुकुम्बासी संघ मोरङ अध्यक्ष ओमनाथ उप्रेतीले राज्यका कर्मचारीको आडमा यसखाले भू–माफियाको चलखेल बिरुद्ध संघले आन्दोलन जारी राखिरहेको बताए । नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष मानप्रसाद लिम्बुले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या जटिल बनेको बताए । उनले भने– ‘दोहोरो समस्या देखिएको कारण छुट्टै आयोग बनाएर अघि बढ्नुको विकल्प छैन् ।’ जग्गाको भाउ भू–माफियाहरु आधा जग्गा भएपनि लिएरै छोड्ने योजनामा रहेपनि सुकुम्बासी संघर्ष समिति मोरङका अध्यक्ष जहरमान लिम्बुले भू–माफिया विरुद्ध सुकुम्बासीहरु एकजुट भएर प्रतिकार गर्नुपर्नेमा जोड दिएका छन् । पथरीशनिश्चरे क्षेत्रमा सुकुम्बासी समस्या समाधान पहल समिति समेत बनाएर सघर्षका केही कार्यक्रम अगाडि बढेका छन् ।
साविक शनिश्चरे गाविसको अंधिकाश, हसन्दहमा आंशिक, साविक पथरी–४ र ५, बयरवन ३, ४, ५, ७, ८ र ९ लगायत क्षेत्रमा दोहोरो स्वामित्वको समस्या देखिएको छ । सो क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या ५३ हजारको हाराहारीमा रहेको उल्लेख छ ।