धरान । भारतीय सेनाबाट अवकाशप्राप्तहरूले अनौपचारिक रूपमा गठन गरेको धरान ब्याडमिन्टन ग्रुपले धरानमा यही जेठको अन्तिम सातातिर ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाका अध्यक्ष मनि चाम्लिङले ¥याङ्किङमा नपरेका ब्याडमिन्टन खेलाडीहरूबीच प्रतियोगिता गराउन लागेको जनाएका हुन् । तीनवटा विधामा प्रतियोगिता गराउन लागेको उनले बताए । ‘हामीले बी, सी र मिक्स गरी तीनवटा क्याटागोरीमा प्रतिस्पर्धा गराउँदै छौँ’–उनले पत्रकार सम्मेलनमा भने ।
प्रतियोगिता जेठको २३ र २४ गते धरान–१३ अमरहाटस्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने भएको हो । प्रतियोगितामा मेन्स डबलतर्फ विजेताले नगद ५१ हजार रुपैयाँ, दोस्रोले नगद २७ हजार र तेस्रो हुनेले क्रमशः ९–९ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने जनाइएको छ । यस्तै महिलाको मिक्स डबलतर्फ विजेताले नगद ३० हजार, दोस्रोले नगद १७ हजार र तेस्रोले क्रमशः पाँच–पाँच हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण–पत्र पाउने जनाइएको छ ।
यस्तै धरानस्तरीय ‘सी’ लेभलतर्फको विजेताले नगद १५ हजार, दोस्रोले नगद १० हजार तेस्रोले क्रमशः तीन–तीन हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण–पत्र पाउने जनाइएको छ । भारतीय सेनामा लामो समयसम्म कार्यरत रहेकाले नेपालमा आएर स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक एवम् संस्थाका अध्यक्ष मनि चाम्लिङले बताए ।
प्रतियोगितामा १४ वटै जिल्लाका र्याङ्कमा नपरेका खेलाडीहरू सहभागी हुन पाउने जनाएको छ । प्रतियोगिताका लागि जुनसुकै उमेर समूहलाई पनि खुल्ला गरिएको जनाइएको छ ।