भद्रपुर । सडक विभाग अन्तर्गत पुल महाशाखाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)बाट निकालेको लागत स्टिमेट भन्दा २५ करोड २० लाख रुपैयाँ कम गरेर झापाको हल्दीबारीमा पालिकाको बजेटले नै एउटा पक्की पुल निर्माण सम्पन्न गरेको छ ।
हल्दीबारी गाउँपालिकाभित्र रहेको वडानम्बर १ र ५ जोड्ने भुतेनी खोलामा दुई करोड तीसलाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको पुल बुधबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो ।
झापा क्षेत्र नम्बर ३ का सङ्घीय सांसद् राजेन्द्रप्रसाद लिङ्देनले पुल उद्घाटन गरे । पुल उद्घाटनका क्रममा सांसद् लिङ्देनले काठेपुल विस्थापित गर्ने अभियान अन्तर्गत दुई वर्षअघि शिलान्यास गरिएको पुल उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए । पुल महाशाखाले गरेको स्टिमेटअनुसार पुल निर्माण हुन नसक्ने भएपछि पालिकाले नै थोरै लागतमा पुल निर्माण गरेर सर्वाङ्गीण विकासमा फड्को मारिरहेको बताए । एउटा जनप्रतिनिधि इमान्दार भयो र उसले सपना बोक्यो र योजना बनायो भने सम्भव हुने उदाहरण यो पुलले प्रमाणित गरेको उनले जनाए ।
पुल महाशाखाले भुतेनी खोलामा केही वर्षअघि डिपिआर गर्ने प्राविधिकले साढे २७ करोडको लागत स्टिमेट निकालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र)ले बताए । दुई करोड तीसलाख लागतमा सारा सृष्टि निर्माण सेवा प्रा.लि.ले २०७९ मङ्सिर ७ गते २४ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको उनले जनाए ।
निर्माण भएको पुलको लम्बाइ ४२ दशमलव ७ मिटर र चौडाइ ७ दशमलव २ मिटर रहेको जानकारी गराएका थिए । एउटा पुलको साढे २७ करोडको लागत स्टिमेट निकालेको महाशाखाले बाँकी दुईवटा पुलसमेत गरी पालिकाको बजेटबाट नै चार करोड ९६ लाख ८५ हजार नौसय २८ रुपैयाँमा निर्माण सम्पन्न भइसकेको बताए । बाँकी दुईवटा पुल भुसुडी खोलामा निर्माण सम्पन्न भई उद्घाटनको तयारीमा रहेको उनले जानकारी दिए ।