धरान । महिला सम्पादक÷प्रकाशक रहेको धरानको एकमात्रै साप्ताहिक दिव्य रोशनी साप्ताहिकले २१ औँ स्थापना दिवस मनाएको छ । 

धरान उपमहानगरपालिकाको कार्यालयमा केक काटेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा तीनजना पत्रकारहरूलाई  नगदसहितले सम्मानित गरिएको छ । सम्पादक÷प्रकाशक मनिता चाम्लिङले आफ्नो बुबा क्वीन गोर्खा इन्जिनियरिङ सार्जन्ट स्वर्गीय प्रभुराम राईको नाममा स्थापित ‘उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान’ बाट छापातर्फबाट ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, न्यू मिडियातर्फ गीता चाम्लिङलाई प्रदान गरिएको छ ।

यस्तै दिवङ्गत दाजु राजु राईको नाममा स्थापित युवा सिर्जनशील पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेलाई प्रदान गरिएको छ । उनीहरूलाई जनही नगद पाँच हजार एक सय रुपैयाँले सम्मानित गरिएको दिव्य रोशनी साप्ताहिकका प्रबन्ध निर्देशक सागर सिँजाली मगरले बताए । 

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) र सम्पादक÷प्रकाशक मनिता चाम्लिङले संयुक्तरूपमा सम्मानित व्यक्तित्वहरूलाई सम्मान–पत्र र नगद प्रदान गरे । यस्तै व्यवस्थापकतर्फ पुराना पत्रकार डम्बर बुढाथोकी र ३२ वर्षदेखि पत्रिका बेच्दै आएका धरान–१७ निवासी कृष्णभक्त श्रेष्ठलाई खाद्यान्नलगायतका सामग्री प्रदान गरिएको छ ।

यस्तै एक महिला उद्यमीलाई पनि कदर–पत्रले सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि साम्पाङले पत्रकारितालाई आफूले सम्मान गर्ने बताए । उनले आफू सार्वजनिक व्यक्तित्व भएकाले आफूले गरेका राम्रा काम र नराम्रा कामहरूको विषयमा जस्ताको त्यस्तै बाहिर ल्याइदिनका लागि आग्रह गरे । उनले भने, ‘म डेलिभर गर्ने स्थानमा छु, मैले गल्ती गरे भने आत्मालोचित हुन तयार छु । तर पत्रकार साथीहरूले सत्यतथ्य बाहिर ल्याइदिनुपर्छ । मैले गरेको गल्तीलाई पनि औँल्याइदिनुस् । राम्रा कामलाई पनि बाहिर ल्याइदिनुस् ।’

यस्तै सम्पादक/प्रकाशक मनिता चाम्लिङले पत्रकारहरू सत्यतथ्य लेखेर अगाडि बढ्नुपर्ने बताइन् । राज्यलाई झक्झकाउने पेशामा भएकाले जे हो त्यही नै औँल्याएर पत्रकारहरू अगाडि बढ्नुपर्ने बताइन् । पत्रकारहरूले राम्रो नियतले काम गरिदिएमा धेरै कुरामा सुधार हुने बताइन् । तर पार्टीकारिताले पत्रकारितालाई तुच्छ बनाउँदै लगेको उनले बताइन् ।