इटहरी / नेपाल राष्ट्र बैङ्कले देशभरका विकास बैङ्कहरुलाई पूँजी बढाउन निर्देशन दिएपछि पूर्वमा सञ्चालनमा आएका विकास बैङ्कका लगानीकर्ताहरु सङ्गठित भएका छन् । सङ्घीय संरचनाअनुसार प्रदेश नम्बर १ मा सेवा प्रदान गर्दैआएका आठवटा विकास बैङ्कहरु राष्ट्र बैङ्कको मौद्रिक नीतिप्रति असन्तुष्टी जनाउँदै लगानी सुरक्षित गर्न सङ्गठित भएका हुन् । नेपाल राष्ट्र बैङ्कले सामूहिकरुपमा दिएका सही निर्देशनहरूको पालना गर्ने उपयुक्त वातावरण सृजना गर्दैै जोखिमयुक्त चुनौतिहरूको सामूहिक सामना गर्ने योजनासहित विकास बैङ्क सञ्चालकहरु सङ्गठित भएका हुन् । पूर्वमा १० जिल्ला सेवा प्रदान गर्न स्वीकृति लिएका एउटा बैङ्क, तीन जिल्लाको स्वीकृति लिएका चार र एक जिल्लाको स्वीकृति लिएका तीनवटा बैङ्क छन् ।
विकास बैङ्कले दुई करोडबाट ५० करोड रुपैयाँ लगानी पु¥याउनु पर्ने भनी राष्ट्र बैङ्कले प्रावधान जारी गरेको विषयमा विकास बैङ्क सञ्चालकहरुको असन्तुष्टी छ । पूर्वमा सेवा प्रदान गर्दैआएका सप्तकोशी विकास बैङ्क, काबेली विकास बैङ्क, मितेरी विकास बैङ्क, विराटलक्ष्मी विकास बैङ्क, एक्सेल विकास बैङ्क, कन्काई विकास बैङ्क, काबेली विकास बैङ्क लिमिटेड, सालपा विकास बैङ्क र माउण्ड मकालु विकास बैङ्कका लगानीकर्ताको भेलाले बैङ्क सञ्चालकहरुको सङ्गठन समेत बिस्तार गरेको छ ।
भेलामा सहभागीहरुले राष्ट्र बैङ्कले अनावश्यक रुपमा बैङ्क सञ्चालकलाई आर्थिक लगानीमा वृद्धि गरी भार बढाउने काम गरेको भन्दै असन्तुष्टी जनाए । उनीहरुले सेवाग्राहीको रकममा यो नीतिले कुनै असर नपार्ने भएपनि बैङ्कमा लगानीकर्ताहरुले भने कौडीको भाउमा दरिलो बैङ्कलाई आफ्नो पूँजी जिम्मा लगाउनु पर्ने अवस्था सिर्जना हुने बताए ।
भेलाले इटहरी घोषणापत्र जारी गर्दै निक्षेपकर्ताहरुको निक्षेपको सुरक्षाको ग्यारेण्टीसहित कर्मचारीहरुको दक्षता अभिवृद्धि गरेर लगानीकर्ताहरूको हक–अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने जनाएको छ । यसैगरी स्थानीय स्तरका उद्यमी÷व्यवसायी हुन चाहने युवाहरुको पहिचान गरी लगानी गरेर उद्यमी व्यवसायी बनाउने कार्यलाई निरन्तरता दिने र स्थानीय निस्क्रिय बचतलाई बैङ्किङ प्रणालीमा ल्याएर उचित प्रतिफल दिने पनि जनाएको छ । नेपाल सरकारको नीतिबमोजिम दुर्गम क्षेत्रमा बैङ्किङ पहुँच पु¥याउने कार्यलाई प्रभावकारी रुपमा निरन्तरता दिनुका साथै स्थानीय स्तरमा दक्ष जनशक्ति विकास गर्ने पनि घोषणापत्रमा उल्लेख छ । स्थानीय लगानीकर्ताहरूको मनोबल उच्च पार्ने उपयुक्त वातावरण सृजना गर्ने र निक्षेपकर्ताहरूको विश्वासलाई थप दरिलो, भरपर्दो र विश्वासिलो पार्ने पनि जनाइएको छ ।
ऐन, नियम तथा निर्देशनहरु बैङ्कहरुको स्तरअनुसार जारी गर्ने गराउने व्यवस्थाको लागि पहल गर्ने, प्रदेशिक संरचनाबमोजिम बैङ्कहरूको वर्तमान संरचनागत स्वरुपलाई परिवर्तन र विकास गर्न जोडदाररुपमा पहल गर्ने पनि जनाइएको छ । यसैगरी प्रदेश स्तरमा प्रादेशिक बैङ्किङ सञ्जाल तयार गर्ने र बैङ्कहरू बीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सृजना गर्ने पनि घोषणापत्रमा उल्लेख छ । भेलाले बैङ्क सञ्चालक तारानाथ निरौलाको संयोजकत्वमा प्रदेश नम्बर १ को ११ सदस्यीय समिति समेत गठन गरेको छ । समितिको सदस्यमा बलराम बराल, किसन मास्के, गणेशप्रसाद खनाल, हेमराज ढकाल, सेवक दाहाल, तिलविक्रम चेम्जोङ, टङ्क राई, कुमार खड्का र विराटलक्ष्मी बैङ्कबाट दुईजना सदस्य थप गर्ने निर्णय गरेको छ । पूर्वमा विकास बैङ्कहरुले अहिलेको अवस्थामा ८ अर्ब रुपैयाँ लगानी गरी सेवा दिँदै आएको पनि भेलामा जानकारी गराइयो ।