बिर्तामाेड । झापाको पुरानो बजार शनिश्चरेलाई पर्यटकीय नगरीका रुपमा बिकास गर्न भौतिक संरचना निर्माणको काम शुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाको पहलमा शनिश्चरे बजारको चोकमा पार्क बनाउन शुरु गरिएको हो ।

सरकारी स्वामित्वको यो जमिनमा यसअघि निर्माण गरिएका संरचना नगरपालिकाले भत्काएको थियो । खाली भएको जमिनमा धार्मिक तथा ऐतिहासिक सम्पदाको प्रतिमा राख्ने काम शुरु गरिएको हो । शनिश्चरे बजारलाई आधुनिक पार्क बनाउन नगरपालिकाले योजना बनाएर बजारलाई स्थानान्तरण गरेको थियो । शनिबार लाग्ने हाटलाई वडा नम्बर ८ मा २ बिगाहा जमिन किनेर स्थानान्तरण गरिएको मेयर हरिकुमार रानाले बताए । मुख्य सडकभन्दा अन्यत्र हाट लाग्न थालेपछि नगरपालिकाले चोकमा पार्क बनाउन शुरु गरेको हो ।

शनिश्चरे बजार नजिकै अर्जुनधारा जलेश्वर धाम रहेको छ । सोही धामको नामबाट नगरपालिकाको नाम पनि अर्जुनधारा रहन गएको हो । धाममा बर्षेनी हजारौं धार्मिक पर्यटक दर्शन तथा अवलोकन तथा अध्ययनका लागि आउने गरेका छन् । नगरपालिकाले अर्जुनधारा धाममा आउने पर्यटकलाई लक्षित गरेर महाभारतकालिन सभ्यता झल्किने मुर्ती भएको पार्क निर्माण गरेको बताएको छ ।

द्धापर युगमा १२ बर्षको बनवासपछि एकबर्षको लागि गुप्तवास बसेका पाण्डवमध्ये अर्जुनले बिराट राजाको गाई चराउँदै सो स्थानमा आएको धार्मिक किंवदन्ती छ । चराउँदै गरेका गाई तिर्खाएपछि अर्जुनले बाँण हानेर पानी निकालेको तथा आफुले चराएका गाईलाई त्यहाँ पानी ख्वाएको भन्ने महाभारतकालिन मान्यता अनुसार त्यस स्थानको नाम अर्जुनधारा रहन गएको हो ।

नगरपालिकाले पार्क निर्माणको पहिलो चरणमा २५ लाख खर्चेर भगवान श्रीकृष्णले अर्जुनलाई राखेर रथ हाँकेको प्रतिमा निर्माण गरेको छ । चारवटा घोडा भएको सो प्रतिमा अहिले आकर्षणको केन्द्र बनेको छ । त्यसैगरी केही बर्ष अघिसम्म झापामै प्रसिद्ध काठको ठेकी बिक्रीगर्ने स्थल शनिश्चरे बजार रहेको थियो ।

अहिले काठको ठेकी लगभग बिस्थापन हुने अवस्थामा रहेको छ । नगरपालिकाले ठेकीको प्रतिमा, केही बर्ष अघिसम्म सामान ढुवानीमा प्रयोग गरिने बयलगाडा, आकर्षक स्वागतद्धार निर्माण गर्ने मेयर रानाले जानकारी दिए ।