ताप्लेजुङ / ताप्लेजुङमा गतवर्ष २१ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको सन् २०१९ को जनवरीदेखि हालसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो । इन्सेक ताप्लेजुङका प्रतिनिधि देवराज गुरुङले मङ्गलबार तथ्याङ्क सार्वजनिक गर्दै जिल्लामा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनका अनुसार यो अवधिमा सबैभन्दा बढी करणीका घटना भएका छन् । ५ वर्षदेखि १७ वर्ष उमेरका ९ जनामाथि बलात्कार, ११ वर्षदेखि १४ वर्षका ३ जनामाथि बलात्कार प्रयास र २२ वर्षदेखि ५२ वर्ष उमेरका ३ जनामाथि बलात्कार प्रयासका घटना भए । यसबाहेक हत्या, बहुविवाह, लैङ्गिक हिंसा (महिला हिंसा, घरेलु हिंसा, वालविवाह) लगायतका घटना पनि भएको गुरुङले बताए । बलात्कारीको निशानामा बालिका बढी परेको समेत प्रतिवेदनमा जनाइएको छ । त्यस्तै जिल्ला कारागारका कैदीले कोचाकोच बस्नुपरेको, हिरासतमा रहेकासँग मातृभाषामा कुरा गर्न बन्देज लगाइएको जस्ता विषय पनि उठेको थियो ।

यस्तै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबार फुङ्लिङ नगरपालिकाले उद्योग वाणिज्य सङ्घमा एक कार्यक्रम गरी समापन गरेको हो । अभियानभर नगरपालिकाले ११ वटै वडामा चेतनामूलक कार्यक्रम गरेको थियो । कार्यक्रमभर स्थानीय नागरिकसँग भेटेर प्रत्यक्षरूपमा कुरा गरिएको र समस्या सुनेको संयोजक नेता सिवाले बताइन् । कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको फुङ्लिङ नगरपालिका–५ का वडाध्यक्ष भीमा ओझाले बताइन् ।

फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले लैङ्गिक हिंसा न्यूनीकरण र मानवअधिकारको रक्षाका लागि नगर सरकार गम्भीर रहेको बताए । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कारागारको भवन निर्माणका लागि प्रक्रिया थाल्ने बताए ।