धरान/नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका कार्यकर्तालाई घरहरूमा मज्जाले झण्डा राखे पनि धरानको मेयरमा प्रतिपक्षलाई भोट दिन आग्रह गरेका छन् ।

प्रेस युनियन धरानले बिहीबार धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईंहरू मज्जाले घर–घरमा झण्डा राख्नुस्, तर एक पटक काङ्ग्रेसलाई भोट दिनुस् ।’ उनले काङ्ग्रेसले यो उपनिर्वाचनलाई जनमत सर्वेक्षणको रूपमा लिएको बताए । उनले उपनिर्वाचन सरकारका लागि पनि अवसरको रूपमा रहेको बताए ।

‘आजसम्म २१ म्हिना २ दिन बितेको यो सरकारको लागि पनि उपनिर्वाचन अवसर हो भन्ने मलाई लाग्छ’ उनले भने, ‘मतदाताले कसलाई जिताउनेछन् । त्यो आधारमा सरकारलाई सच्चिने अवसर पनि हो ।’ उनले धरानमा काङ्ग्रेसले माया नपाए पनि काङ्ग्रेसले धरानेलाई माया गरेको दाबी गरे । उनले काङ्ग्रेसले नै धरानका लागि महत्त्वपूर्ण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दिएको बताए ।

उनले यसलाई काङ्ग्रेसको फाइदा मात्रै नभई सबैलाई फाइदा भएको बताए । उनले एकपटक काङ्ग्रेसलाई माया गरेर मेयरलाई जिताएमा सुकुम्बासी समस्या समाधान गर्ने बताए । ‘सुकुम्बासीलाई कसरी नगरबासी बनाउने भन्ने मेयरले योजना बनाएको छ’ उनले भने, ‘२०४८ सालमा सुकुम्बासी भएर मतदाता बन्नुभयो, २०७६ मा पनि सुकुम्बासी भएर नै चुनावमा भोट हाल्नुहुँदैछ, के पाउनु भयो ?’

उनले निर्वाचित मेयरले यहाँका शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे । ‘त्यसका लागि धरानेले परिवर्तन रोज्नुपर्छ, जिम्मेवार प्रतिपक्षलाई रोज्न म आग्रह गर्छु’–उनले भने ।

फरक प्रसङ्गमा मन्त्रिमण्डल पुनर्गठन नेपाली काङ्ग्रेसको सरोकारको विषय नभए पनि मन्त्रिमण्डल परिवर्तन गरेर जानुभनेको यो सरकार एक हिसाबमा ‘फेलियर’ भएको पुष्टि भएको उनले बताए । उनले यो सरकारले राष्ट्रपतिलाई पनि विवादमा तान्ने प्रयास गरिरहेको टिप्पणी गरे । ‘राष्ट्रपति व्यक्ति होइन, संस्था हो, पूर्व राष्ट्रपति रामवरण यादवबाट अहिलेको राष्ट्रपतिले सिके हुन्छ’ उनले भने, ‘प्रधानमन्त्री जीले डाक्नु पर्ने बैठक बालुवाटारमा नभएर सीतल निवासमा हुन्छ भने त्यो के भइरहेको छ ?’