बेलबारी/ मोरङको केराबारी गाउँपालिकास्थित केराबारी बजारमा धुले सडकमै कालोपत्रे गरेको पाइएको छ । केराबारी बजारको मच्छिन्द्र चोकदेखि पश्चिमपट्टि झण्डै ५० मिटर आसपासमा सडकको दायाँ–बायाँ किनारमा रहेको धुलोसमेत नहटाई सडक कालोपत्रे गरेको छ ।

आर वान कन्स्ट्रक्सन विराटचोकले ठेक्का पारी गरेको कालोपत्रे सडकको स्थानीयलाई चित्त नबुझेपछि जनप्रतिनिधिलाई देखाई ध्यानाकर्षण गरेका थिए । २०७६ साल कात्तिक मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएका कारण ठेकेदारले हतार–हतार काम गरेको बुझिएको छ ।

साथै सडक कालोपत्रे गर्ने क्रममा कम्पनीले सम्झौता अनुसार काम नगरेको पनि स्थानीयले बताएका छन् । सडकको बेस (मोटाइ) न्यूनतम् ४० एमएम र चौडाइ ५ मिटर रहने गरी सम्झौता पत्रमा उल्लेख गरिएको भए पनि कतिपय ठाउँमा २० एमएम मात्र मोटाइ रहेको स्थानीयको भनाइ छ । यता वर्षाचोकदेखि पश्चिममा पनि करिब २० मिटर सडकको धुलोमै कालोपत्रे गरिएको छ ।

गाउँपालिकाको १ करोड बढीको लागतमा ठेकेदार कम्पनीले कात्तिक मसान्तभित्र सक्ने गरी पछिल्लो पटक समय थपेका थिए । यसअघि पनि केराबारी–८ को हजार बिघामा सडक कालोपत्रे गर्दा सडक गुणस्तरहीन गरेको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

स्थानीयको अवरोधपछि गाउँपालिका उपप्रमुख शान्तिकुमारी लिम्बू भूजेल र वडा नं. ८ का वडाध्यक्ष मनोज खड्काले ठेकेदारलाई मापदण्डअनुसारको कालोपत्रे गर्न लगाउने आश्वस्त पारेपछि पुनः कालोपत्रे सुचारु गरिएको थियो । कालोपत्रे निर्माणमा गाउँपालिकाका प्राविधिकसमेतले जिम्मेवारीपूर्वक निरीक्षण तथा नियमन नगरेको स्थानीयले बताएका छन् । प्राविधिकहरूले कडाइपूर्वक निरीक्षण गर्ने हो भने ठेकेदारहरूले लापरबाही गर्नै नसक्ने स्थानीयहरू बताउँछन् ।

यता गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले सडक निर्माण गर्ने ठेकेदार कम्पनी राम्रो भए पनि स्थानीयले निगरानी नगर्दा कर्मचारी र त्यहाँ खटिने मजदुरहरूले राम्ररी फिल्ड नहेरी काम गर्ने गरेको बताए । ‘व्यवसाय गर्ने मान्छेले त्यसै पनि नाफा खोज्ने भएकाले दुई–चार पैसा बचाउनपट्टि लाग्छन् तर त्यसको निगरानी सरोकारवाला सबै पक्षले गरे काम राम्रो हुन्छ’ –अध्यक्ष कार्कीले भने ।